सञ्चालनमा आयो आइसोलेसन अस्पताल

सञ्चालनमा आयो आइसोलेसन अस्पताल

दैलेखमा निर्माण सम्पन्न भएको आइसोलेसन अस्पताल ।

हिक्मतबहादुर नेपाली
दैलेख साउन १ गते ।
कोरोना संक्रमणको हटस्पट रुपमा हेरिएको दैलेखमा आइसोलेसन अस्पताल निर्माण गरिएको छ । कोरोना भाइरस रोग संक्रमितको उपचारका लागि दैलेख सदरमुकामस्थित झुप्रेसाल नजिकै भगवती मन्दिरको डाँडामा अस्पताल निर्माण गरिएको हो । स्वास्थ्य सेवा कार्यालय दैलेखको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने गरी अस्पताल बनाईएको हो । कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि निर्माण थालिएको अस्पताल तीन हप्तामा सकिएको निर्माण कम्पनीले जनाएको छ ।
एक पटकमा ५० जनाको उपचार गर्ने गरी आइसोलेसन अस्पताल बनाइएको छ । पाँच वटा प्रिफेप भवन निर्माण भएका छन् । कर्णाली प्रदेशका सांसद अम्मरबहादुर थापाको सांसद क्षेत्र विकास कार्यक्रमको बजेटबाट अस्पताल निर्माण गरिएको हो । झण्डै ७२ लाखको लागतमा अस्पताल निर्माण पुरा भएको सांसद थापाले बताए । आर्थीक बर्ष २०७६/०७७ को बजेटबाट ५५ लाख रुपैयाँ भुक्तानी हुन्छ, सांसद थापाले भने ‘बाँकी रकम आगानी आर्थीक बर्ष २०७७/०७८ मा भुक्तानी हुनेछ ।’ अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि आवश्यक तयारी पुरा भएको सांसद थापाले जनाए । आइसोलेसनका लागि आवश्यक अक्सिजन लगाएतका अरु उपकरणहरु भने व्यवस्थापन हुन बाँकी छ ।
अस्पताल निर्माणका लागि जेसीका एण्ड अभियान कन्ट्रक्सन प्राली दैलेखले जिम्मा पाएको थियो । प्रिफेप भवन निर्माणका लागि लकडाउनमै काठमाडौं र चितवनबाट सामग्री ल्याउनुपर्ने भएकाले ढुवानीमा समस्या झेल्नुपरेको कन्ट्रक्सनका सञ्चालन प्रकाश बुढाले बताए । जनशक्ति अभावकै बीचमा तीन हप्तामै अस्पताल निर्माण सकिएको बुढाले बताए ।
आइसोलेसनमा अहिले नारायण नगरपालिकाका पाँच जना कोरोना संक्रमित उपचाररत छन् । आइसोलेसनमा चिकित्सकसहितको टोली परिचालन गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका डा. निरञ्जन पन्तले बताए । बुधवारसम्म दैलेखमा कोरोना संक्रमितको संख्या आठ सय एक जना पुगेको छ । ती मध्ये ७५६ जना डिस्चार्ज भईसकेका छन् ।

प्रतिक्रिया