कोरोना जितेकालाई ‘छोइछिटो’

कोरोना जितेकालाई ‘छोइछिटो’

दैलेख साउन ६ गते । कर्णालीमा कोरोना जितेर फर्किएकाहरू समुदायमा ‘छोइछिटो’ भोग्न बाध्य छन्। कोरोना संक्रमणपछि आइसोलेसनमा उपचार गराएर डिस्चार्ज भएकाहरू आफन्त र छिमेकीबाटै हिंसा र दुर्व्यवहार भोग्न बाध्य भएकाले पुनस्र्थापनामा समस्या भएको पीडितको गुनासो छ।

कोरोना जितेर घरमा पुगे पनि आफूमाथि छोइछिटो, सार्वजनिक स्थलमा दुर्व्यवहार, सामाजिक काममा बहिस्कार, सामूहिक खेतीमा बन्देजका साथै परिवारका सदस्यलाई समेत मानसिक हिंसा भइरहेको उनीहरूले बताएका छन्। मजदुरीका लागि भारत गएका कालीकोटको शुभकालिका गाउँपालिका ५ का शिवप्रसाद अधिकारी कोरोना कहरपछि गाउँ फिर्ता भए। क्वारेन्टाइनमा बसेको १३ दिनमा उनको पीसीआर रिपोर्ट पोजेटिभ आयो। कोरोना देखिएपछि उनलाई जिल्ला सदरमुकाम मान्ममा रहेको आइसोलेसनमा भर्ना गरियो। १५ दिन उपचारपछि उनलाई डिस्चार्ज गरेर घर पठाइयो। कोरोना जितेर खुसी हुँदै गाउँ पुगेका उनलाई छिमेकी र आफन्तले नै दुर्व्यवहार गर्न थाले। उनी भन्छन्, ‘कोरोनालाई जितेर भारतबाट फर्किएको ३३ दिनपछि घर पुगें। मृत्युलाई जितेर घर पुग्दा निकै खुसी थिएँ। तर छिमेकीको व्यवहारले दुःखी बनाएको छ, मलाई नजिक पर्न दिँदैनन्।’गाउँमा खेतीको समय भए पनि कोरोना लागेको भन्दै आफूलाई पर्ममा सामेल नगराइएको र आफूहरू हिँडेको बाटोसमेत गाउँलेहरू नहिँडेको प्रति उनको गुनासो छ। यसपालिको रोपाइँ आफ्नो परिवारले एक्लै गरेको अधिकारीले बताए। शुभकालिका गाउँपालिकाकै डम्बर शाही, रमेश जैसीलगायतका १२ जनाले कोरोना जितेर गाउँ पुगेका छन्। तर उनीहरू गाउँमा विभिन्न प्रकारका मानसिक हिंसा र दुर्व्यवहार सहन बाध्य छन्। कोरोना जितेर गाउँ पुगेका रमेश जैसीले भने, ‘अचेल हामीलाई देखेपछि गाउँले भाग्छन्, कुनै काममा पनि सहकार्य गर्दैनन्।’ कर्णाली प्रदेशमा सबैभन्दा धेरै संक्रमित दैलेखमा भएका छन्। संक्रमणसँगै निको हुनेको संख्या पनि बढ्दो छ। तर कोरोना जितेर निको भएकाहरूलाई गाउँमा घुलमिल हुन भने सहज छैन। दुल्लु नगरपालिका–२ नाउले कटुवालका १७ वर्षीय नविन थापा भारतबाट फर्किंदा कोरोना संक्रमित भए। कोरोना जितेर घर फर्के पनि गाउँलेको व्यवहारले असहज भएको उनको पीडा छ।

नारायण नगरपालिका– ३ का उदयबहादुर नेपाली भन्छन्, ‘मलाई कुनै लक्षण देखिएको थिएन, आइसोलेसनबाट डिस्चार्ज भएपछि गाउँमा आएका छु। मेलापात जाने र भेटघाट गर्ने वातावरण बनेको छैन, सबै मदेखि त्रसित छन्।’ कोरोना निको भएका महाबु गाउँपालिका–२ का सन्दीप खत्री भन्छन्, ‘आफ्नै परिवारसँग पनि खुलेर रमाइलो गर्न पाएका छैनौं।’ कर्णालीका अधिकांश जिल्लामा अस्पताल र आइसोलेसनबाट डिस्चार्ज भएकाहरू समुदायमा पुनस्र्थापना हुन सकिरहेका छैनन्।कर्णालीमा पछिल्लो समय कोरोना जितेर डिस्चार्ज हुनेको संख्या बढेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार बुधबारसम्म १ हजार ४ सय ६२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्। बुधबारसम्म प्रदेशभर संक्रमितको संख्या १ हजार ६ सय ९० पुगेको छ। सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले कर्णालीमा अब १ सय ९१ मात्र आइसोलेसनमा रहेको बताए। कर्णालीमा हालसम्म कोरोनोबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।

यसैबीच, कोरोना जितेर डिस्चार्ज भएकाहरूलाई समुदायमा दुर्व्यवहार हुन थालेपछि उनीहरूमा मानसिक समस्या देखिने चिन्ता बढेको छ। मनोविमर्शकर्ता रमा श्रेष्ठले यतिबेला संक्रमण जितेका र संक्रमितहरूलाई मनोसामाजिक परामर्श आवश्यक रहेको बताइन्। ‘थुप्रै समस्या झेल्दै मानिसहरू जन्मथलो आएका छन्, कोरोना जितेर घरमा जाँदा पनि सहजै घुलमिल हुने वातावरण छैन’ श्रेष्ठ भन्छिन्, ‘समाजमा उनीहरूमाथि थप हिंसा भइरहेको छ, तत्काल मनोपरामर्श सेवा दिन नसके डिप्रेसनको समस्या आउन सक्छ।’जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना जितेर घर गएकालाई हिंसा र दुर्व्यवहार भए कारबाही गर्ने चेतावनी दिएको छ। प्रशासनले विज्ञप्ति निकालेर क्वारेन्टाइन आसपासका समुदायले कोरोना प्रभावितलाई दुर्व्यवहार गर्ने, कोरोना जितेर घर फर्किसकेका व्यक्तिलाई समेत घृणा गर्ने गरिएको भन्दै प्रशासनले यस्ता अपमानजनक व्यवहार नगर्न सबैमा अपिल गरेको हो।अन्नपूर्ण पोस्ट्बाट

प्रतिक्रिया