सन्दर्भ स्तनपान सप्ताहः बिगौती दूध नै नवजात शिशुको पहिलो खोप

सन्दर्भ स्तनपान सप्ताहः  बिगौती दूध नै नवजात शिशुको पहिलो खोप

दैलेख साउन १८ गते । विश्व स्तनपान सप्ताह (२८औं विश्व स्तनपान दिवस) नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी देशव्यापीरूपमा मनाइँदै छ । विश्व स्तनपान दिवस हरेक वर्ष अगस्ट १ देखि ७ सम्म सप्ताहव्यापी रूपमा मनाइन्छ । आमाको दूध बच्चाका लागि अमृत समान हुन्छ र बच्चा जन्मेको १ घण्टाभित्र खुवाइने आमाको बिगौती दूध नै बच्चाका लागि रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता भएको पहिलो खोप हो । बच्चा जन्मनासाथ स्तनपान गराउनाले बच्चाले दूध चुस्दा पाठेघर खुम्चने र रक्तश्राव कम हुनलाई समेत मदत पुग्छ ।

यस वर्ष ‘स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्र आधार’ भन्ने मूल नाराका साथ स्तनपान सप्ताह मनाइँदै छ । स्तनपान संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले सन् १९९२ देखि यो सप्ताह मनाइँदै आइएको हो ।नेपालमा स्तनपान गराउने महिलाको संख्या ६६ प्रतिशत र शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत मात्र रहेको सन् २०१६ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणमा उल्लेख गरिएको छ ।

नेपालमा ५ वर्षमुनिका ३६ प्रतिशत बालबालिकाहरू पुड्कोपना, १० प्रतिशत ख्याउटेपना, २७ प्रतिशत कम तौल, ५३ प्रतिशत रक्त अल्पताबाट ग्रसित छन् ।नेपालमा हुने बाल मृत्युदरको ५३ प्रतिशत कारक कुपोषण रहेको पाइएको छ । यी सबै प्रकारको कुपोषण न्यूनीकरणमा स्तनपानको महत्वपूर्ण भूमिका हुने डा. भीमसिंह तिनकरीले बताउँछन् ।

प्रतिक्रिया