पानीको मुहान संरक्षण गर्न ४६ वटा रिचार्ज पोखरी

पानीको मुहान संरक्षण गर्न ४६ वटा रिचार्ज पोखरी

दैलेख साउन २० गते । पानीको मुहान संरक्षणका लागि दैलेखको आठबीस नगरपालिका र अछामको पञ्चदेवल विनायक नगरपालिकामा रिचार्ज पोखरी निर्माण गरिएको छ । जलवायु परिवर्तनको असरका कारण पानीको मुहान सुक्दै जान थालेपछि सुख्खा क्षेत्रहरु आठबीस नगरपालिका वडा नम्बर ८ लामिछाने गाउँ र पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ गोगनपानी र वडा नम्बर ५ मा बर्षातको पानीबाट हुने जमिन कटान रोकथाम गर्दै पानीको मुहान संरक्षणका लागि ४६ वटा रिचार्ज पोखरी निर्माण गरिएको हो ।
साकार परियोजना अन्तरगर्त आठबीस नगरपालिका वडा नम्बर ८ मा १५ वटा र पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ को छिचेपानी मुहान संरक्षण गर्न २१ वटा र वडा नम्बर ४ गोगनपानीमा १० वटा रिचार्ज पोखरी निर्माण गरिएको हो । डिसिएको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित परियोनाले ३४ हजारको लागतमा लामिछाने गाउँमा १५ वटा रिचार्ज पोखरी निर्माण गरिएको परियोजना संयोजक माधव भट्टराईले बताए ।
यस्तै साढे १८ हजारको लागतमा गोगनपानीमा १० वटा र ४४ हजारको लागतमा छिचेपानी मुहान संरक्षणका लागि २१ वटा रिचार्ज पोखरी निर्माण गरिएको भट्टराईले बताए । कुल ९७ हजार एक सय ६८ रुपैयाँको लागतमा ४६ वटा रिचार्ज पोखरी निर्माण गरिएको उनले बताए । ‘भएका पानीका श्रोत सुक्दै जान थालेपछि श्रोत संरक्षणको विकल्पमा रिचार्ज पोखरी निर्माण गरिएको हो, यसले चिस्यान कायम हुने अपेक्षा राखेका छौ,’ भट्टराईले भने ।
कोरोना भाइरसका कारण भारतबाट फर्किएका बेरोजगार युवाहरुलाई रिचार्ज पोखरी निर्माणमा लगाईएको थियो । एक सय ३३ जनाले रोजगारी समेत पाएका थिए । भिरालो जग्गामा बग्ने र माटो कटान गर्ने पानीलाई पोखरीमा जम्मा गरेर हरियाली बढाउन र पानीको मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माण गरिएको संस्थाका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले बताए । पोखरीमा जम्मा भएको पानी तरकारी खेतीमा सिचाई गर्न समेत उपयोग गर्न सकिने श्रेष्ठले जनाए ।

प्रतिक्रिया