कर्णाली किनारमा सामुहिक तरकारी खेती (भिडियो सहित)

कर्णाली किनारमा सामुहिक तरकारी खेती (भिडियो सहित)

दैलेख साउन ३० गते ।
जिल्लाको आठबीस नगरपालिका–३ साईमा सामुहिक तरकारी खेती सुरु गरिएको छ । कर्णाली नदिको किनारमा रहेको खेतीयोग्य जमिनमा सामुहिक तरकारी खेती सुरु गरिएको हो । आठबीस नगरपालिका र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहयोगमा सामुहिक तरकारी खेती सुरु गरिएको हो । यहाँका कर्णाली कृषि समुहमार्फत सामुहिक तरकारी खेती गर्न थालनी गरिएको हो । उक्त समुहमा २३ जना सदस्यहरु आबद्ध रहेका छन् । समुहका अध्यक्ष मिमबहादुर शाहीका अनुुसार झण्डै ३६ रोपनी जमिनमा तरकारी खेती सुरु गरिएको हो ।
सामुहिक तरकारी खेतीका लागि आठबीस नगरपालिकाले ७ लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराएको छ । कृषि समुहका अध्यक्ष शाहीका अनुसार हाल टमाटर, बन्दा र काउलीको नर्सरी राखिएको छ । हिउँदे आलु लगाउने गर्ने तयारी थालिएको उनले बताए ।
खेतीका लागि युरोपेली युनियन (इयु) को आर्थिक सहयोगमा डिसिए नेपाल, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, लिवर्ड, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुरको साझेदारीमा सञ्चालित जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिबृद्धि (उत्थान) परियोजनाले पलाष्टिक घर, सरल थोपा सिचाई सहयोग गरेको छ । १२ वटा पलाष्टिक घर र १२ वटा सरल थोपा सिचाई सहयोग उपलब्ध गराईएको परियोजनाका सामाजिक विकास सहजकर्ता अबिलाल जैसीले जानकारी दिए ।
बिहीवार आठबीस नगरपालिकाका प्रमुख खड्गराज उपाध्याय तथा अन्य जनप्रतिनीधिहरुको उपस्थितीमा पलाष्टिक घर, सरल थोपा सिचाई हस्तान्तरण गरिएको सामाजिक विकास सहजकर्ता जैसीले बताए । ‘बारी जोत्नका लागि केहि समयसम्म हाते ट्याक्टर उपलब्ध गराएका छौ,’ जैसीले भने ‘परियोजना मार्फत तरकारी खेतीका लागि प्राविधिक सहयोग समेत उपलब्ध गराउँछौ ।’

हेर्नुहोस् भीडियो

प्रतिक्रिया