कोरोना कहर : कर्णालीमा थपिए ५१ संक्रमित, १९ जना डिस्चार्ज

कोरोना कहर : कर्णालीमा थपिए ५१ संक्रमित, १९ जना डिस्चार्ज

दैलेख भदौ ८ गते । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रमुख वृषबहादुर शाहीका अनुसार चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाला रुकुमपश्चिम, कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप ५१ जनामा संक्रमण पुष्टि भएको हो । 

प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा सुर्खेतका दुई, बर्दियाका एक, चितवनका दुई, कञ्चनपुरका दुई, सल्यानका एक, कैलालीका एक, सर्लाहीका एक र रुपन्देहीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाला रुकुमपश्चिममा गरिएको परिक्षणमा रुकुम पश्चिममा १८, जाजरकोटका १५,बर्दियाका एक, डडेल्धुराका एक, धादिङका एक र उदयपुरका एक जनामा संक्रमण पुष्टि भएको छ । 

त्यसैगरी कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रमुख शाहीले जनाए । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार दुई सय ९५ पुगेको छ ।  स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशका विभिन्न जिल्लाका १९ जना निको भएर घर फर्किएका छन् । यो सँगै कर्णालीमा एक हजार ९ सय ९२ जना कोरोना जीतेर घर फर्किएका छन् । 

कुन जिल्लामा कति संक्रमित ?

कर्णाली प्रदेशमा सबै भन्दा धेरै कोरोना संक्रमित दैलेख जिल्लामा देखिएको छ । स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखमा हालसम्म एक हजार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसपछि सुर्खेतमा ६ सय १३, सल्यानमा २ सय ६१, जुम्लामा १ सय १५ जनामा संक्रमण देखिएको छ । त्यसैगरी हुम्लामा ५, मुगुमा १०, डोल्पामा ५, कालिकोटमा ८२, जाजरकोटमा ४८ र रुकुम पश्चिममा ५७ जना र अन्य प्रदेशका ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णालीमा हालसम्म ६ जनाको मृत्यु भईसकेको छ । 

प्रतिक्रिया