दैलेख उद्योग वाणिज्य संघका समस्या,उपलब्धि र अवसरहरु–कविराज खत्री
राज्यले तीन खम्बे नीति अवलम्बन गरी समग्र रुपमा गुणात्मक विकासको गतिलाई मूहुर्तता दिने उद्घोष गरेको छ । उद्घोष मात्र होइन,सोही अनुसारको कदम अवलम्बन गरेको छ । ती तीनखम्बे नीतिहरु सरकारी,सहकारी र नीजि क्षेत्र हुन । विश्वका सफल,उन्नतशील राष्ट्रहरुले यस्तै प्रकारका नीतिहरु अवलम्वन गरी ठोस रुपमा कार्यान्वयन गरिरहेका कारण ती राष्ट्रहरुको प्रगती संभव भएका जाजुल्य उदाहरण हाम्रा सामू छर्लङ्गछन ।
यसै क्रममा दैलेख उद्योग वाणिज्य संघको जन्म २०३७ सालमा ब्यापार संघका नामबाट दर्ता भई २०५१ सालमा उद्योग वाणिज्य महासंघको मान्यता पाएको दैलेख उद्योग वाािणज्य संघ राज्यले अंगिकार गरेको तीन खम्बे नीति अन्तर्रगत नीजि क्षेत्रको सिंगो प्रतिनिधित्व गर्ने एउटा मजबूद संस्था हो । यसको गरिमा,महिमा र काम कर्तब्य अरु संस्थाहरुको भन्दा भिन्न र महत्वपूर्ण छ । यो कुरा स्वयं राज्यले पनि स्वीकार गरेको छ ।
दैलेख उद्योग वाािणज्य संघको विस्तृत इतिहास अर्को आलेखमा उल्लेख गरौंला । यति वेला उद्योग वाणिज्य संघ दैलेखका समस्या,उपलब्धि र अवसरहरुका बारेमा संक्षिप्त चर्चा गर्ने छु ।
समस्याहरुः
भनिन्नछ नदी पार गर्नलाई पहिला पौडी खेल्न जान्नु पर्दछ र अनि नदीमा स्वयं आफै हाम्फाल्नु पर्दछ । म राजनीतिक क्षेत्रमा लागेको मानिस अँझ माक्र्सवादी सिद्धान्त मान्ने कम्युनिष्ट कार्यकर्ता भएको नाताले माक्र्सवादको एउटा मूलभूत सिद्धान्त वर्ग संघर्ष,उत्पादन संघर्ष र वैज्ञानिक प्रयोग गरिएन भने समाजलाई आमूल परिर्वतन गर्न सकिदैन भन्ने मान्यतालाई अंगिकार गर्न वर्ग संघर्षको अलवा उत्पादन संघर्षमा पनि जोडिन पुगें । आवश्यकताले महसुस गरे पछि उद्योग वाणिज्य संघ,दैलेखको छैठौं साधारणसभा तथा अधिवेशनमा संघको उम्मेदवार सदस्यमा उत्रन अखिल नेपाल उद्योग ब्यापार संघको वैठकले मलाई जिम्मा दियो । त्यो जिम्मेवारी वहन गर्नका लागि संघका उम्मेदवार अध्यक्षहरु दानबहादुर थापा र शान्तिप्रसाद शर्माले हाम्रो संघसित आ–आफ्नो प्यानलमा सहभागि हुन अनुरोध गर्नुभयो । अन्ततः हाम्रो संघ शान्तिप्रसाद शर्माको प्यानलमा चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरी चुनावमा भाग लियौं । र यस विषयमा शान्तिप्रसाद शर्माको प्यानलसित केही लिखित सहमती पनि भएका थिए । हामीले चुनाव जित्यौं । विजय जुलुस मनाईसके पश्चात धेरै जसो ब्यापारीहरुले कविजी काम राम्रो गर्नु भन्नुभएको थियो । तर पछिल्लो समयमा संघमा बसेर काम गर्न केही समस्या र कठिनाईहरु आएकाछन । जसको चर्चा धेरै गर्नु पर्ने आवश्यकता छैन । यस विषयमा सबै जानकार नै हुनुहुन्छ ।
अव म दैलेख उद्योग वाािणज्य संघका केही देखा परेका मूख्य समस्याहरु उजागर गर्न चाहान्छु । यस संघको मूख्य समस्या संस्थागत विकास जुन रुपमा हुनु पर्ने हो,सोही अनुसार हुन नसक्ने नै हो । हुन त यो आलेक तयार पार्दासम्म यस संघमा करिव दुई हजारभन्दा बढि सदस्यहरु आवद्ध भएकाछन । दैलेख जस्तो विकट र उद्योग विहिन जिल्लामा यति धेरै सदस्यहरु हुन राम्रो पक्ष हो । तर मानव भिडको मात्र वृद्धि भएर संस्थागत विकास हुँदैन । संघको संस्थागत विकास गर्नका लागि मूख्य कुरा संघको विधान समय सापेक्ष छैन । समावेशी र समानुपातिक प्रतिनिधित्वको शुनिश्चितता विधानले गरेको छैन । विधानले अध्यक्षतात्मकमूखी प्रणाली अर्थात एकल प्रणालीलाई मात्र मजबुद बनाएको छ । अर्को कुरा संघको सचिवालय मजबुद छैन । संघको चुनाव पछि कार्य समितिको पूर्ण वैठक अपवाद देखी बाहेक नियमित बस्न सकेको छैन भने ढिलो गरी गठन भएको सचिवालयको वैठक हालसम्म एक पटक पनि बसेको छैन । विषयगत उप–समितिहरु,बजार उप–समितिहरु,कृष समितिहरु गठन भएकाछन तर तिनीहरुको क्षमता अभिवृद्धि र संस्थागत विकासका लागि अहिलेसम्म संघले कुनै पनि ठोस निर्णय गर्न सकेको छैन । यसका साथै ती आफ्ना अंगप्रत्यागं मजबुद बनाउने ठोस योजना नै बनाएको छैन । संघका दैनिक कार्य सम्पादनहरु मौखिक आदेश वा आपसी सरसल्लाह बमोजिम नै प्राय सम्पादन हुने गर्छन । अर्को महत्वपूर्ण कुरा संघका कार्यालय प्रमूखको संयुक्त हस्ताक्षरमा एउटा पनि खाता खोलिएको छैन भने पेटी खर्चको कुनै पनि अधिकार दिइएको छैन । यसका साथै आर्थिक प्रणाली चुस्तदुरुस्त त छ तर यसको थप ब्यवस्थापन गर्न लेखापालको अहिलेसम्म ब्यवस्थापन गरिएको छैन । यसको अलवा संघलाई प्रशासनिक क्षेत्रबाट मजबुद बनाउन कुनै प्रकारका पनि निमावली तयार पारी कार्यान्वयन गरिएको छैन । वैठकले गरेका निर्णयहरु कार्यान्वयन हुन सकेका छैनन । यी दृष्टान्तहरुले गर्दा दैलेख उद्योग वाणिज्य संघ अहिले पनि संस्थागत विकासको क्षेत्रमा निकै कमजोर र ठीठ लाग्दो अवस्थाबाट अघि बढेको छ ।
अर्को मूख्य समस्या दीर्घकालीन सोच र चुनावी‘इगो’ रहेको छ । दीर्घकालीन सोच भन्नाले संघको गन्तब्य कहिले,कहाँ,कसरी,कुन स्थानमा पु¥याउने ? भन्ने ठोस कार्ययोजना नै छैन । नीजि क्षेत्रमा संलग्न ब्यापारी र उद्योगीहरुको समग्र हितका लागि,औद्योगिक जिल्ला बनाउनका लागि र बाहिर जिल्लाका उद्योगीहरुलाई दैलेखमा खेर गईरहेका स्थानीय कच्चा पदार्थ प्रसोधन गरी राष्ट्रिय स्तरका उद्योगहरु स्थापना गर्न लगाउनका लागि लगानी मैत्री आकर्षक वातावरण तयार गर्न सकेको छैन । एकातिर यस्तो प्रकारको समस्या छ भने अर्कोतिर प्रजातान्त्रिक अभ्यासका आधारमा संघको चुनाव हुने गर्दछ । चुनावमा जित वा हार जे भए पनि चुनाव सम्पन्न भए पश्चात चुनावी‘इगो’ समाप्त गरी जितेका वा हारेका दुवै पक्ष संघका एउटै परिवार हौं भन्ने भावना जागृत हुन सकेको छैन । जित्नेहरु विजयको दम्भको माला पहिरने र हार्नेहरु हार मानसिकता पालेर संघको समग्र हितका लागि अवरोध श्रृजना गर्ने वा सदावाहार असहयोग गर्ने परिपाटी हावी भएको छ । यस्तो प्रकारको ‘इगो’ साँचियो भने संघको गरिमा र समग्र विकास ओझेलमा पर्न सक्छ ।
अर्को पक्ष विज्ञताको अभाव हो । नीजि क्षेत्रलार्य मजबुद बनाउन वर्तमान ब्यापारी सोच र पद्धतीले मात्र संभव छैन । विकसित देशहरु कसरी विकसित भए ? तिनीहरुको अध्ययन अवलोकन गर्न आवश्यक छ । वेला बखत औद्योगिक भ्रमण,प्रदर्शनी,महोत्सव आदि कार्य संचालन गर्नु पर्छ । क्षमता विकास अभिवृद्धि तालिम बारम्बार आयोजना गर्नु पर्दछ भने यस दैलेख जिल्लामा जन्मेका र कर्मभूमी बाहिर बनाएका विषय विशषेज्ञहरुलाई औद्योगिक दैलेख बनाउन अथवा आर्थिक सम्वृद्धिको आधार तयार गर्न नैतिक,भौतिक र आर्थिक सहयोगका लागि आह्वान गर्नु पर्छ । यसका साथै उनीहरुलाई यस संघमा कुनै न कुनै भूमीकामा प्रवेश गराउनु पर्दछ । हालसम्म दैलेख उद्योग वाणिज्य संघले यस्ता विषयमा कुनै ठोस पहल चाल्न सकेको छैन । आयातमूखी अर्थतन्त्रलाई घटाउँदै निर्यातमूखी अर्थतन्त्र बढाउन कुनै योजना र सोच नै बनाएको देखिदैन । यी र यस्तै समस्याहरु संघका वर्तमान समस्याहरु हुन । जसका कारणले संघ सबैको भरोसाको केन्द्र बन्न सकेको छैन भने आपसी द्वन्द्व न्यून हुनुको सट्टा बढेर गएको छ ।
उपलब्धिहरुः
माथि उल्लेखित थुप्रै समस्याहरुका बीचबाट अघि बढेको दैलेख उद्योग वाणिज्य संघले हालसम्म केही ठोस उपलब्धिहरु समेत हाँसिल गरेको छ । यो राम्रो पक्ष हो । यो वर्तमान समितिभन्दा अगाडिका समितिहरुले चालेका सार्थक प्रयासहरु र तय गरेका गन्तब्यलाई आधारशीला मान्दै त्यही जगमा टेकेर वर्तमान कार्य समितिले आफ्नो भवन निर्माण गर्नु,संघबाटै अस्थायी पान जारी गर्ने ब्यवस्था मिलाउनु र निरन्तरता दिनु, जिल्लााटै कर चुक्ता गर्ने ब्यवस्थालाई ब्यवस्थित र नियममित गर्नु,इतिहासको कालखण्डमा यो कार्यसमितिको सक्रियतामा सबै बजार क्षेत्रहरुमा बजार उप–समिति र कृषि समितिहरु गठन गराउन सक्नु,सदस्यता वृद्धि गराउन सक्नु,सरकारी तथा गैह्र सरकारी संघ÷संस्थासित सहकार्य गरी हाटबजार संचालन गर्ने योजना तय गर्नु,नगर सरसफाई,वधशाला ब्यवस्थित,तीन वर्षे संघको रणनीतिक योजना तयार,औद्योगिक क्षेत्र स्थापनाका लागि पहल, काठमाण्डौमा फोटो प्रदर्शनी,महाकुम्भ मेलामा पूर्ण सहयोग आदि कार्य यति छोटो समयमा सम्पादन गर्नु मूख्य उपलब्धीहरुका रुपमा लिन सकिन्छ । दैलेख उद्योग वाणिज्य संघको इतिहासको कालखण्डमा सबैभन्दा धेरै र महत्वपूर्ण कार्य बर्तमान कार्य समितिले गरेको छ ।
यसको अलवा दैनिक कार्यालय संचालन,कृषक,लघु उद्यमीहरुको दीगो विकासका लागि पहल गर्ने योजना बनाउनु र कार्य समितिका सबै सदस्यहरु पहिलाका कार्य समिति सदस्यहरुभन्दा बढि क्रियाशील हुन संघका साकारात्मक वा उपलब्धिहरु हुन । तर यी प्राप्त उपलब्धिहरुलाई सूचिकृत,प्रचार–प्रसार र केन्द्रीकृत गर्न सकिएको छैन भने अर्को कुरा कार्य समितिका अन्य पदाधिकारी,सदस्यहरु र कर्मचारीहरुलाई अधिकार पूर्ण रुपमा प्रत्यायोजन नभएकाले सोचे जति ठोस उपलब्धिहरु हाँसिल भएका छैनन । यति मात्र नभई आर्थिक सम्पन्नताको आधारमा कमजोर आर्थिक आधार भएकाहरुलाई पैतलाको धुलो सम्झने संक्रिण सोच र चिन्तन संघको कार्य समितिभित्र रहेकाले संघको समग्र उपलब्धिमा बादलको घेरा छाएको अनूभूती हुन थालेकाछन । यस्ता आपसी असमझदारीहरुको पूर्ण अन्त्य गर्न हामी सबै तम्तयार हुनु पर्दछ ।
अवसरहरुः
देखा परेका र उब्जिएका समस्याहरु नेतृत्वले र सिंगो टिमले न्यूनिकरण गर्ने प्रयास गर्नु,वर्तमानमा अभिएर भूतकालको ब्याख्या गर्नुको सट्टा,आन्तरिक वा बाहिरिए मतभेद् बढाउनुको सट्टा भविश्यको ज्युँदो सपना देख्नु र ती सपनाहरुलाई साकार पार्न साझा प्रयास गर्नु नै अवसरको परिभाषा हो ।
दैलेख उद्योग वाणिज्य संघका पनि थुप्रै अवसरहरु रहेकाछन् । ती मूख्य अवसरहरु अन्र्तरगत संघका सदस्यहरु वृद्धि हुनु, बजार उप–समिति,वस्तुगत उप–समितिहरु थोरै मात्रामा भए पनि क्रियाशील हुन, कृषि उप–समिति मार्फत कृषक,उद्यमी समेटिनु संस्थागत विकासको मूख्य आधारशीला र अवसर हो । यसको अलवा सदस्यहरुको हकहितको अतिरिक्त संघलाई सहकार्यका लागि भरोसा गर्दै स्थानीय निकायहरु,दातृ निकायहरु,गैह्र सरकारी संघ÷संस्थाहरु बजारीकरण,उद्यम स्थापना र संघको दीगो विकासका लागि हातेमालो गरेर अघि बढ्ने चाहाना प्रकट गर्नु पनि संघका लागि अवसर हो ।
साथै कृषि विकास कार्यालयले कृषि उद्यमीहरुका समस्याहरु सामाधान गर्नका लागि संघसित निरन्तर सहकार्य गरिरहेका ेछ । हामीहरुले संघको तर्फबाट के कति सहयोगी हात र सम्बन्ध कायम राख्न सक्छौं ? जिम्मा हाम्रै छ । यसै गरी अवको एक वा दुई वर्षमा सिंगो दैलेख जिल्ला लोडसेडिङ्ग मुक्त जिल्ला बन्ने निशिच्त प्राय छ । औद्योगिक क्षेत्र स्थापनाका लागि मूख्य कच्चा पदार्थ उर्जा भएका कारण दैलेख लोडसेडिङ्ग मुक्त जिल्ला भए पछि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय लगानीकर्ताहरु जिल्लामा उद्योग स्थापना गर्नका लागि भित्रन सक्ने सुनौलो आधार तयार भएको छ । यसका लागि संघले तत्काल दैलेखमा औद्योगिक क्षेत्र स्थापना गर्न र जिल्लामा खेर गईरहेका कच्चा पदार्थहरु प्रसोधन गर्ने वातावरण तयार पार्न लाग्नु पर्छ ।
यति मात्र होइन,मध्यपहाडि राजमार्ग दैलेख भएर जोडिनु,राकमकर्णाली मेघासिटी बन्नु,कर्णाली अंचल जोडने राजमार्ग दैलेख सदरमूकाम भएर जानु पनि नीजि क्षेत्रका लागि सुनौला अवसरहरु हुन । यी अवसरहरु गुम्न नदिन संघमा नेतृत्वका प्रभावकारिता झन आवश्यक बनेको छ । त्यो वातावरण हामीहरुले श्रृजना गर्नु पर्छ । यति मात्र नभई दैलेखको पंचकोशी तिर्थ स्थल विश्व सम्पदाको सूचीमा सूचीकृत हुने संभावना रहेको छ । यी सबै उपलब्धिहरुलाई गुणात्मक रुप दिनका लागि दैलेख उद्योग वाणिज्य संघको कार्य सम्पादन प्रकृया र संरचना गुणात्मक,योग्य,दुरदर्शी र क्षमतावान हुन जरुरी छ ।
जबसम्म हामीले हाम्रा साझा कमजोरीहरु सुधार्ने प्रयत्न गर्दैनौं,जबसम्म संघको संस्थागत संरचना मजबुद पार्न सक्दैनौं,जबसम्म हामी सबै समान हौं भन्ने भाव ब्यवहारमा लागु गर्न सक्दैनौं तवसम्म अवसरहरु प्राप्त भए पनि हामीहरु त्यसलाई जीवन्त राख्न सक्ने छैनौं । ब्यापारिक मानसिकता र नीजि सम्वृद्धिले मात्र संघको विकसित अनुहार देख्न सकिदैन । नेतृत्वले र नीजि क्षेत्रका अगुवा नेताहरुले नीजित्वपनलाई गुमाएर पनि सामूहिक हित(संघ) को हितको रक्षा गर्ने प्रयास निरन्तर गर्नु पर्छ । दैलेख उद्योग वाणिज्य संघमा आवद्ध पदाधिकारी र सदस्यहरु सबैले यस कुराको हेक्का राख्न जरुरी छ ।
अन्त्यमा म दैलेख उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्ष भएको नाताले मैले मेरो करिब १८ महिने कार्यकालमा मेरो पदिय हैसियत अनुसार संस्थाको हितका लागि त्यति ठोस कार्य गर्न सकेको छैन । यो कुरा म स्वीकार गर्न तयार छु । किनकी यसका पनि केही आन्तरिक र बाहिरिए कारणहरुछन । जुन कारण यहाँ सबै उल्लेख गर्न चाहान्न । संघका नियमित बैठकहरु बस्न नसक्नु,सचिवालयको वैठक अहिलेसम्म नबस्नु,प्राय सबै कार्यहरु मौखिक आदेश वा मौखिक सल्ला अनुरुप धेरै मात्रामा कार्य सम्पादन गर्ने परिपाटी हुनु, संघको विधान,कार्य पद्धति र सदस्यहरुको चाहाना भावना अनुसार संघको कार्य समिति ठोस रुपमा अघि बढ्न नसक्नु जस्ता कारणले गर्दा परिणाममूखी कार्य सम्पादन हुन सकेको छैन । यस विषमा संघको नेतृत्व र सिंगो कार्य समिति थप क्रियाशील हुन आवश्यक छ । चुनाव जित्दा जुन उमंग र उत्साह हामीहरुमा थियो त्यो उमंग र उत्साहलाई हामीहरुले निरन्तरता दिनु पर्दछ । हामी हाम्रो विधान,नीति,पद्धति र प्रकृया अनुसार ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर संघमा हामीहरुले पाएको जिम्मा इमान्दारी पूर्वक बहन गर्ने सोचका साथ अघि बढे अवको एक दसकमा दैलेख उद्योग वाणिज्य संघ नेपालकै नमूना संघ बन्ने कुरामा कुनै शंका नै छैन । एक पटक हामी सबैले गम्भीरतापूर्वक सोच्ने हो की ?
प्रतिक्रिया