महामारी र बन्दाबन्दीमा रोकिएन मानव बेचबिखन

महामारी र बन्दाबन्दीमा रोकिएन मानव बेचबिखन

सांकेतिक तस्विर

दैलेख भदाै २० गते । शनिबार मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १४औँ राष्ट्रिय दिवस मनाईएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीकै बीचमा पनि मानव बेचबिखन र ओसारपसार रोकिन नसकेका बेला दिवस मनाईएको हो । । केही दिनअघि नेपाल–भारत सीमा क्षेत्रबाट २९ जना महिला तथा किशोरीको उद्धार गरियो । भारतबाट नेपालमा सामान लिएर आएका कन्टेनरले फर्कंदा दलालका सहायताले नेपालका महिला र बालबालिकालाई बेचबिखनका लागि त्यसतर्फ लगिएका घटना सार्वजनिक भइरहेका छन् । बन्दाबन्दीको समयमा एक पुरुष र दुई जना महिला बेचबिखनको आरोपमा पक्राउ परेका छन् । त्यस्तै यही बीचमा भारतको दिल्लीबाट छ र मनीपुरबाट २१ सहित २८ जना बेचबिखनमा परेका किशोरीसहितको उद्धार गरिएको नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका प्रमुख डा. देवबहादुर बोहराले जानकारी दिए । मानव बेचबिखनको क्रमलाई कोरोना महामारी र बन्दाबन्दीले रोकिएको छैन् । पछिल्लो समय कामका लागि विदेश लगिएका महिलासमेत बेचबिखनमा पर्ने क्रम बढेको छ ।
राजनीतिक संरक्षण बाधक
चरिमाया तामाङ भारतमा बेचिएर पछि उद्धार हुनुभएपछि आफूजस्तै पीडितलाई न्याय दिलाउन सक्रिय हुनुहुन्छ । शुक्रबार पर्पल फाउन्डेसनले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा उनले न्याय प्राप्तिमा राजनीतिक जवाफदेहिताको अभाव रहेको बताइन् । उनले मानव बेचबिखन र उद्धारपछि न्याय प्राप्तिको विषय अझै जटिल रहेको गुनासो गरिन् ।
सांसद गगन थापाले मानव बेचबिखनको मुद्दामा बाहिरी सरोकारवालासँग बहस र छलफल भए पनि संसदमा नभएको स्वीकार गरे । सांसद विद्या भट्टराईले सरोकारवालाले निरन्तर दबाब दिनुपर्नेमा जोड दिइन् । पर्पल फाउन्डेसनकी निलम शर्मा मानव तस्करी उल्मूूलन गर्न प्रभावकारी उपाय अपनाउनुु जरुरी रहेको बताउँछिन् ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुसार विश्वमा झन्डै दुई करोड ५० लाख मानिस बाध्यकारी श्रम गर्न बाध्य छन् । सन् २०२० को हालसम्म विश्वमा मानव बेचबिखनका एक लाख आठ हजार ६१३ घटना पहिचान भएका र त्यसमध्ये महिला बालबालिका बढी भएको जनाइएको छ । मानव अधिकार आयोगका अनुसार नेपालमा सन् २०१९ को एक तथ्य वयस्क मनोरञ्जन क्षेत्रका छ हजार आठ सय, वैदेशिक रोजगारीमा गएका १२ हजार, निकृष्ट बालश्रम गर्ने १२ हजार, हराएका र फेला नपरेका तीन हजार दुई सय गरी कुल ३५ हजार महिला र बालबालिका बेचबिखनमा परेका छन् ।

प्रतिक्रिया