सांसद विशुन्केको पहलमा स्वास्थ्य सामग्री

सांसद विशुन्केको पहलमा स्वास्थ्य सामग्री

दैलेख भदाै ३० गते । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि संघीय सांसद पार्वती विशुन्केको पहलमा स्वास्थ्य सामग्री हस्तान्तरण सुरु भएको छ । दैलेख निर्वाचन क्षेत्र नं. १ का ६ वटा स्थानीय तहहरु (नारायण नगरपालिका, गुराँस गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका, भगवतीमाई गाउँपालिका, नौमूले गाउँपालिका र महाबु गाउँपालिका) लाई स्वास्थ्य सामग्रीको व्यवस्थापन गरिएको हो । सोमवार देखि नै स्थानीय तहमै पुगेर स्वास्थ्य सामग्रीहरु हस्तान्तरण थालिएको छ । गाउन, आइआर थर्मामिटर, एन नाइन्टी फाइभ, सर्जिकल मास्क, पञ्जा, सुकभर, चस्मा लगाएतका सामग्रीहरु हस्तान्तरण थालिएको सांसद विशुन्केले जानकारी दिइन् ।
मंगलवार जिल्ला कारागार कार्यालय दैलेख, जिल्ला प्रहरी कार्यालय, नारायण नगरपालिका र नारायण नगरपालिका–१ पुरानो बजारका स्थानीयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । नारायण नगरपालिका–१ पुरानो बजार क्षेत्रका एक सय ५० घरधुरीलाई घरदैलो गरेरै स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । स्वास्थ्य सेवा कार्यालय (दैलेख अस्पताललाई) समेत स्वास्थ्य सामग्री प्रदान गरिने सांसद विशुन्केले बताइन् । यसैबीच मंगलवार जिल्ला स्थित पत्रकारहरुलाई सेनीटाइजर र मास्क प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघलाई एक वटा आइआर थर्मामिटर समेत प्रदान गरिएको छ ।
त्यस अघि सांसद विशुन्केले जिल्ला स्थित पत्रकारहरुसँग भेटघाट गरेकी छिन् । पत्रकारहरुसँग छलफल गर्दै सांसद विशुन्केले कोरोना महामारीको बेलामा काठमाडौंमा रहेर विभिन्न निकायहरुको समन्वयमा अलपत्र परेका नागरिकहरुलाई जन्मथलो पठाएको बताइन् । कोरोना रोकथाम तथा नियन्त्रणमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको सांसद विशुन्केको भनाई छ । आफ्नो पहलमा संघीय सरकारमार्फत जिल्लामा आएको विकास निर्माणको काममा गुणस्तरिय र दिगो बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने सांसद विशुन्केको भनाई थियो । छलफलमा जिल्लास्थित पत्रकारहरुल विकास निर्माणका योजनामा हुने भ्रष्टाचार, अनियमितता रोक्न सुझाव दिएका थिए ।

प्रतिक्रिया