८२ प्रतिशत बलात्कार आफन्तबाटै, बलात्कारका घटना बढि हुनेको सूचीमा कर्णाली चौथो

८२ प्रतिशत बलात्कार आफन्तबाटै, बलात्कारका घटना बढि हुनेको सूचीमा कर्णाली चौथो

काठमाडौं असाेज १५ गते । नेपालमा भएका ८२ प्रतिशत बलात्कारसँग सम्बन्धित घटना आफन्तबाटै हुने गरेको पाइएको छ । बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले चिनजानकै व्यक्ति वा निकट परिवारका सदस्यबाट ८२.२७ प्रतिशत जबरजस्ती करणीको घटना भएको तथ्यांक प्रस्तुत गरे ।

थापाका अनुसार पछिल्लो दुई वर्ष र चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा ४ हजार ८७० वटा जबरजस्ती करणीको घटना भएको छ । यसबाट ४ हजार ९१९ जना पीडित छन् । यो तथ्याङ्कमा प्रहरीमा दर्ता भएका केसहरुमात्रै समावेश रहेको थापाले जानकारी दिए ।गत साउनमा २६४ र भदौमा २३२ गरी दुई महिनामा ४९६ वटा जबरजस्ती करणीको घटना प्रहरीमा दर्ता भएको र त्यसबाट ४९९ जना पीडित भएको थापाले बताए ।

साउन र भदौको दुई महिनालाई ६३ दिनले भाग गर्दा औसतमा प्रतिदिन ७ वटा घटना हुन भएको देखिएको उनले सुनाए । थापाका अनुसार विगतका वर्षहरुमा औसतमा प्रतिदिन ६ वटासम्म जबरजस्ती करणीका घटना भएका छन् ।तर, यसवर्षको दुई महिनाको तथ्याङ्क केलाउँदा प्रतिदिन औसतमा ७ वटा हुन आएको छ । साउन र भदौमा जबरजस्ती करणीबाट ३१९ जना बालिका र १८० जना महिला पीडित भएको तथ्याङ्क छ ।

महानिरीक्षक थापाका अनुसार सबैभन्दा बढी जबरजस्ती करणीका घटना प्रदेश १ मा भएको छ । त्यसपछि प्रदेश ५, प्रदेश २ र कर्णाली प्रदेश रहेका छन् । आर्थिक वर्ष २०७५/०७६ मा २२३० वटा जबरजस्ती करणीको घटना भएको थियो । ०७५/०७६ मा २१ सय ४४ वटा घटना भएको थियो । जबरजस्ती करणीको घटनाका पीडित ६४ प्रतिशत बालिका छन् । अर्थात मुख्य पीडित १८ वर्षमुनिका रहेको पाइएको छ ।

२० प्रतिशत अभियुक्त फरार

महानिरीक्षक थापाले जबरजस्ती करणीमा संलग्नको आरोप लागेकामध्ये ८० प्रतिशत पक्राउ परेका र २० प्रतिशत फरार छन् ।फरारहरुको खोजी हुन नसक्नुको मुख्य कारणमा सीमावर्ती क्षेत्रबाट भारततिर भाग्नु रहेको थापाले बताए ।

विश्वमा नेपालको स्थिति राम्रो : गृहमन्त्री

बैठकमा सहभागी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विश्वका सवा २०० देशको अवस्था विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको सुनाए ।‘सवा २०० देशहरु अवस्था विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने विषय होइन । सरकारको तर्फबाट न्यूनीकरणमा प्रयासहरु भएका छन् र हाम्रो स्थान धेरै पछाडि नै छौं । पछाडिबाट हेर्दा हामी टप १५ मा छौं’ थापाले भने ।

प्रहरी महानिरीक्षक थापाले पनि दक्षिण अफ्रिकामा धेरै बलात्कार घटना हुने तथ्य प्रस्तुत गर्दै प्रतिलाखमा १३२ जनामाथि जबर्जस्ती करणी हुने गरेको बताए ।नेपालको केसहरुलाई हेर्दा प्रतिलाखमा ०.८० प्रतिशत छ । अर्थात, एक लाख २० हजारमा एक जनामा जबरजस्ती करणी भएको पाइएको उनले बताए । ‘यही अवस्थामा हामीले रोक्न सक्यौं भने कम्तीमा हामीले साउथ अफ्रिकाको नियती भोग्नुपर्दैन थियो कि भन्ने हाम्रो पनि चाहना हो र हामी त्यसमा लागि रहेकै छौं’ बैठकमा महानिरीक्षक थापाले भने ।

प्रतिक्रिया