चिकित्सक सहित १२ जनामा कोरोना संक्रमण, दैलेख अस्पताल सिल

चिकित्सक सहित १२ जनामा कोरोना संक्रमण, दैलेख अस्पताल सिल

दैलेख कात्तिक १ गते । स्वास्थ्य सेवा कार्यालय दैलेख/दैलेख जिल्ला अस्पतालमा कार्यरत एक जना चिकित्सक सहित १२ जनामा कोरोना संक्रमण देखिएको छ । शनिवार आएको पीसीआर रिपोर्ट अनुसार अस्पतालमा कार्यरत एक जना चिकित्सक, ११ जना स्वास्थ्यकर्मी र कर्मचारीहरुमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेख, दैलेख जिल्ला अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यववस्थापक डा. निरन्जन पन्तले जानकारी दिए ।
अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको छ । शनिवार देखि कात्तिक ४ गतेसम्मका लागि ईमरजेन्सी सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द गरिएको अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यववस्थापक डा. पन्तले जानकारी दिए ।
यसैबिच शुक्रवार जिल्लाको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनि हाल दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत छन् । ‘खोकी लागेपछि कोरोनाको शंका लागेर परिक्षण गराएको थिए, परिक्षण गर्दा संक्रमण पुष्टि भयो,’ उनले भने ‘मैले काम गर्ने शिलसिलामा धेरै व्यक्तिहरुसँग भेटघाट भएको छ, मेरो सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित रहन आग्रह गर्दछु ।’ यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन जिल्ला कमिटि दैलेखका सह–संयोजक हेमन्त दशौँदीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण तिब्र रुपमा फैलिईरहेको छ । शनिवार मात्रै ४ महिला र १८ पुरुष सहित २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । योसँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक हजार दुई सय २४ जना पुगेको छ । ती मध्ये एक हजार एक सय २४ जना निको भई डिस्चार्ज भईसकेका छन् । हाल जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एक सय जना छ ।

प्रतिक्रिया