दैलेखमा संक्रमणको अवस्था भयावह, कोरोना परीक्षण गराएका शतप्रतिशतमा संक्रमण

दैलेखमा संक्रमणको अवस्था भयावह, कोरोना परीक्षण गराएका शतप्रतिशतमा संक्रमण

हिक्मतबहादुर नेपाली
दैलेख कात्तिक १४ गते ।

दसैं तथा तिहारमा जिल्ला आउनेको आवतजावत र भीडभाड बाक्लिएसँगै दैलेखमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदायस्तरमा तीब्ररुपमा फैलिन थालेको छ ।पछिल्लो तीन दिनको तथ्यांक हेर्दा संक्रमणको ग्राफ बढ्दो छ । पीसीआर परीक्षणका लागि संकलन गरिएको स्वाबमध्ये शत प्रतिशतमा संक्रमण पुष्टि हुन थालेको छ । गत मंगलबार पीसीआर परीक्षणका लागि संकलन गरिएका स्वाबमध्ये ६० प्रतिशतलाई संक्रमण पुष्टि भएको थियो । यो संख्या बढेर बुधबार ८० प्रतिशतलाई संक्रमण पुष्टि भयो । 

बिहीबार भने शत प्रतिशतलाई संक्रमण पुष्टि भएको दैलेख अस्पताल पीसीआर प्रयोगशालाका इन्चार्ज शंकर शाहीले जानकारी दिए । बिहीबार १२ जनाको मात्रै स्वाब परीक्षण गरिएको थियो । स्वाब परीक्षण गरिएको १२ जनामै संक्रमण पुष्टि भएको इन्चार्ज शाहीले जानकारी दिए । ‘जिल्लामा संक्रमणको जोखिम उच्च छ,’ इन्चार्ज शाहीले भने समुदायस्तरमा परीक्षण गर्ने हो भने ७० प्रतिशत नागरिकमा संक्रमण देखिनसक्छ ।’ सरकारले कोरोना परीक्षण गर्न शुल्क तोकेपछि परीक्षण गर्नेहरु घटेको शाहीले बताए । 

कडा ज्वरो आउने, खोकी लाग्ने र स्वास फेर्न गाह्रो भएर अक्सिजन दिनुपर्ने अवस्थाका बिरामी बढ्दै गएको दैलेख अस्पताल स्रोतले जनाएको छ । जिल्ला सदरमुकाममा जनप्रतिनीधि, स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकर्मी, व्यवसायीलाई कोरोना संक्रमण बढि देखिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत एवं कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मीले जिल्लामा कोरोना संक्रमणको अवस्था भयावह रहेको भन्दै सजग र सुरक्षित रहन आग्रह गरेका छन् । रेग्मीका अनुसार शुक्रवारसम्म एक हजार तीन सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । ती मध्ये एक हजार दुई सय ४० जना डिस्चार्ज भइसकेका छन् । हाल जिल्लामा संक्रिय संक्रमितको संख्या एक सय १६ जना छ ।

यता जिल्ला प्रशासन कार्यालय दैलेखले शनिवारसम्म जिल्लाका सम्पूर्ण सरकारी कार्यालय, संस्थान, संघ संस्था र बैंक तथा बित्तिय संस्थाहरुको अत्यावश्यक कार्यवाहेक सम्पूर्ण सार्वजनिक सेवा प्रवाह बन्द गर्न निर्देशन दिएको छ । कर्मचारीहरुमा समेत संक्रमण पुष्टि हुन थालेपछि समुदायस्तरसम्म संक्रमण फैलिनबाट रोक्न सार्वजनिक सेवा बन्द गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । दैलेखका नागरिक समाजले भने समुदायस्तरमा परीक्षणको दायरा बढाउन माग गरेका छन् । 

सवारी साधनमा झन बढी लापरबाही

दैलेखबाट सञ्चालन हुने छोटो तथा लामो दुरीका सवारी साधनमा झन् बढी लापरबाही भइरहेको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै फेस सिल्डको प्रयोग अनिवार्य गरेको छ । विभागले कोभिड–१९ को संक्रमण रोकथामका लागि छोटो, मध्यम र लामो गरी सबै दूरीका सवारी साधनमा यस्तो व्यवस्था गरेको हो । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशिका तथा मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने व्यवस्था विभागले गरेको छ । तर, दैलेखबाट सञ्चालन हुने सार्वजनिक सवारी साधनमा कुनैपनि मापदण्ड लागु हुन सकेको छैन् । सवारी साधानमा सुरक्षा मापदण्डहरुको पालना भए नभएको बारे अनुगमन समेत हुन सकेको छैन् । 

प्रतिक्रिया