१६ दिने अभियानको शुभारम्भ, महिलाहरुको अर्थपूर्ण सहभागिताको जरुरी : सांसद विशुन्के

१६ दिने अभियानको शुभारम्भ, महिलाहरुको अर्थपूर्ण सहभागिताको जरुरी : सांसद विशुन्के

दैलेख : दैलेखमा पनि बुधवार देखि महिला माथि हुने हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म (मंसिर १० देखि मंसिर २५) लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ गरिएको छ । ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ सो अभियान आजदेखि शुरु भएको छ ।
नारायण नगरपालिकाको अगुवाईमा अभियान थालनी गरिएको हो । अभियानमा झण्डै दुई दर्जन सरकारी तथा गैरसरकारी निकायहरुले हातेमालो गरेका छन् । जिल्ला प्रहरी कार्यालय, अन्तरपाटी महिला संजाल, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, महिला सशक्तिकरण मञ्च, दैलेख जेसिस, सेतो गुराँस, रुपान्तरण नेपाल, पारिवारिक नीजि वन, एभरेष्ट क्लब, समुदायमा आधारित संस्था महासंघ, लायन्स क्लब अफ दैलेख, सुन्दर नेपाल संस्था, दलित महिला संघ, सेडा नेपाल लगाएतका सरकारी गैरसरकारी निकायहरुले अभियानमा हातेमालो गरेका छन् ।
अभियानको शुभारम्भको अबसरमा कोभिड–१९ को महामारीको कारण महिलाहरुमा परेको प्रभावबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नारायण नगरपालिकाद्धारा आयोजित कार्यक्रममा संघीय सांसद पार्वती विशुन्केले वर्तमान संघीय संरचनामा वडा तहदेखि संघीय संसदसम्म महिलाहरुको सहभागिता भए पनि अर्थपूर्ण सहभागिता नभएको बताइन् । ‘महिलाहरुलाई नेतृत्वमा ल्याउन ठूलै संघर्ष गरियो, महिलाहरुको सहभागिता बढेको छ तर, महिलाका लागि कानुन बन्दैमा अर्थपूर्ण सहभागिता हुँदैन्, सांसद विशुन्केले भनिन् । संविधानमा राजनीतिक संगठन तथा निर्वाचन प्रक्रियामा आरक्षण कोटा तोकिए पनि अर्थपूर्ण सहभागिता भने नभएको उनको टिप्पणी छ ।


‘महिलालाई कठै बिचारा मात्र होइनन्, महिलाका लागि फास्ट ट्रयाक मार्फत बनेका कानुन कार्यान्वयन हुनुपर्छ, सांसद विशुन्केले भनिन् ‘तल्लो तहका पीडित महिलाहरुको स्तर उकास्न स्थानीय तहहरुको भूमिका महत्वपूर्ण हुन्छ । उनले स्थानीय तहहरुले सडक खन्ने मात्र नभई महिलालाई जीवन स्तर उकास्न आयआर्जनमा जोड्दै राजनीतिक सशक्तिकरण गर्नुपर्ने बताइन् ।

नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्लको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मीदेवी शाह, नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर बुढा, पत्रकारहरु अमर सुनार, यज्ञराज थापा लगाएतले आफ्नो विचार राखेका थिए । कार्यक्रममा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखमार्फत सञ्चालित बाल हेल्पलाइन १०९८ बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानबारे जानकारी गराएकी थिइन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भका अबसरमा बुधवार साँझ देवकोटा चोकमा दिपप्रज्वलन समेत गरिएको छ ।

प्रतिक्रिया