कर्णालीमा सामाजिक अपराधका घटना उच्च : डीआईजी पन्त

कर्णालीमा सामाजिक अपराधका घटना उच्च : डीआईजी पन्त

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्तकुमार पन्त ।
तस्विर : हिक्मतबहादुर नेपाली ।

हिक्मतबहादुर नेपाली
दैलेख :
कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्तकुमार पन्तले कर्णालीमा सामाजिक अपराधका घटना उच्च रहेको बताएका छन् । प्रहरी चौकी तल्लो डुङ्गेश्वर र प्रहरी चौकी चुप्राको नवनिर्मित भवन उद्घाटनको सिलसिलामा दैलेख आएका प्रहरी नायव महानिरीक्षक पन्तले प्रदेशमा महिला हिंसा, माधक पदार्थ सेवन गरेर झै–झगडा गर्ने, आत्महत्या तथा बाल विवाहका घटना उच्च रहेको बताएका हुन् । प्रदेशको शान्ति सुरक्षाको अवस्था सन्तोष रहेको उल्लेख गर्दै प्रहरी नायव महानिरीक्षक पन्तले भने ‘सामाजिक अपराधलाई न्यूनिकरण गर्न प्रहरीले विभिन्न अभियानहरु सञ्चालन गरिरहेको छ ।’
सामाजिक अपराध मध्ये महिला हिंसाका घटना बढि रहेको उनको भनाई छ । कोभिड–१९ का कारणले पनि आत्महत्याका घटना बढेको प्रहरी नायव महानिरीक्षक पन्तले बताए । ‘सामाजिक अपराधका घटना अन्त्य गर्न हरेक व्यक्ति शिक्षित हुनुपर्छ यद्धपी हालको अवस्थामा प्रहरीले जनचेतनामुलक कार्यक्रमहरु, घरदैलोमा पुगेर समस्याहरु पहिचान गरेर समस्या समाधान गर्ने तथा नागरिकहरुलाई सुसुचित गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ,’ प्रहरी नायव महानिरीक्षक पन्तले भने ‘कर्णालीका केहि क्षेत्रमा यातायातको हिसावले दुर्गम रहेका कारण प्रहरीलाई घटनास्थलसम्म तत्कालै पुग्न कठिन छ, केहि ठाउँहरुमा पुग्नै दुई देखि तीन दिनसम्म हिड्नुपर्ने अवस्था छ, यो प्रहरीका लागि चुनौतीको विषय हो ।’
सामाजिक अपराधका घटनाहरु न्यूनिकरण गर्न कर्णालीका १० वटै जिल्लामा कार्यरत महिला र पुरुष प्रहरी अधिकृतहरुलाई तालिम दिएर गाउँ गाउँमा पठाउने तयारी गरेको उनले बताए । तालिम प्राप्त प्रहरी अधिकृतहरुले महिला हिंसा बढि भएका क्षेत्रहरुमा केन्द्रित गरेर कार्यक्रम सञ्चालन गर्नेछन् ।
अर्को प्रसंगमा प्रहरी नायव महानिरीक्षक पन्तले कर्णालीका १० वटै जिल्लामा झण्डै एक हजार दुई सय बढि प्रहरी जनशक्ति अभाव रहेको बताए । जनशक्ति थप गर्न संघीय सरकारसँग माग गरिरहेको उनको भनाई छ । प्रहरी समायोजन सकिए लगत्तै कर्णालीले प्रहरी जनशक्ति अभावको समस्या झेल्नु नपर्ने प्रहरी नायव महानिरीक्षक पन्तको भनाई छ । उनले कर्णालीका विभिन्न जिल्लामा प्रहरी कार्यालयहरुको स्तरोन्नती भईरहेको बताए । हालै डिएफआईडीको सहयोगमा कर्णालीमा चार वटा प्रहरी कार्यालयको भवन निर्माण सकिएको उनको भनाई छ । ‘सुविधा सम्पन्न भवन निर्माण भएका छन्, उनले भने ‘प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरेर बाँकी रहेका प्रहरी कार्यालयका भवनहरु निर्माण गरिनेछ ।’ प्रहरी नायव महानिरीक्षक पन्तले कर्णालीका जाजरकोट, हुम्ला, रुकुम लगाएतका जिल्लाहरुमा विप्लव माओवादीको छिटफुट गतिविधिहरु भईरहेको जानकारी दिए । ‘विभिन्न जिल्लाहरुमा कार्यक्रम गर्ने, चन्दा असुली र पर्चा पम्पेलेट बाड्ने जस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीले समन्वय गरेर काम गरिरहेको छ, प्रहरी नायव महानिरीक्षक पन्तले भने ।

भीडियो

प्रतिक्रिया