बराहमा १५ शैयाको अस्पताल शिलान्यास

बराहमा १५ शैयाको अस्पताल शिलान्यास

दैलेखको गुराँस गाउँपालिका–४ बराहमा निर्माण गरिन लागेको १५ शैयाको अस्पतालको शिलान्यास गर्दै प्रतिनीधि सभा सदस्य पार्वती विशुन्के ।

दैलेख : जिल्लाको गुराँस गाउँपालिका–४ मा १५ शैयाको अस्पताल शिलान्यास गरिएको छ । बराहस्थित सेरीबाडा स्वास्थ्य चौकी परिषरमा सोमवार एक कार्यक्रमकाबीच प्रतिनिधि सभाका सदस्य पार्वतीकुमारी विशुन्केले अस्पतालको शिलान्यास गरिन् । गाउँपालिकाका अध्यक्ष खेमराज ओली, प्रमुख प्रशासकिय अधिकृत नन्दराम चौलागाईं, गाउँपालिकाका जनप्रतिनीधि, कर्मचारी, स्वास्थ्यकर्मी, विभिन्न राजनीतिक दलका नेता तथा स्थानीयबासिको उपस्थितीमा अस्पतालको शिलान्यास गरिएको हो । दैलेख सुर्खेत सडक खण्डमै पर्ने यो गाउँपालिकामा अस्पताल नहुँदा उपचारका लागि सर्वसाधरणहरु जिल्ला सदरमुकाम दैलेख, प्रदेश राजधानी सुर्खेत, लुम्बिनी प्रदेशको कोहलपुर तथा नेपालगंजका साथै भारतमा जानुपर्ने बाध्यता थियो ।

दैलेखको गुराँस गाउँपालिका–४ बराहमा निर्माण गरिन लागेको १५ शैयाको अस्पतालको शिलान्यास समाराेह


अस्पतालको शिलान्यास गर्दै प्रतिनीधि सभा सदस्य पार्वतीकुमारी विशुन्केले नेपालको स्वास्थ्य क्षेत्रका लागि सोमवारको दिन ऐतिहासिक भएको बताईन् । उनले देशभरीमा एकैदिन ३ सय ९६ अस्पतालको शिलान्यास भएको भन्दै स्वास्थ्य क्षेत्रको यो ऐतिहासिक क्रान्ति भएको उल्लेख गरिन् । प्रतिनीधि सभा सदस्य विशुन्केले दैलेख निर्वाचन क्षेत्र नम्बर १ को गुराँसमा १५ शैया, नौमूलेमा १५ शैया र महाबु गाउँपालिकामा १० शैयाको अस्पताल निर्माण शुभारम्भ भएको जानकारी दिइन् । हाम्रै कार्यकालमा अस्पताल सञ्चालनमा आउने दाबी गर्दै प्रतिनीधि सभा सदस्य विशुन्केले अस्पताल सञ्चालनमा आएसँगै स्थानीय नागरिकहरुले घरदैलोमै स्वास्थ्य सेवा पाउने बताइन् । अर्को प्रसंगमा प्रतिनीधि सभा सदस्य विशुन्केले दैलेख सुर्खेत सडक खण्डलाई दुई लेनको बनाउन सक्दो पहल गरिरहेको बताइन् ।
सोहि अबसरमा गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बहुवर्षीय योजनामा निर्माण हुन लागेको यस अस्पतालबाट सर्वसाधरणको स्वास्थ्यमा पहुँच पुग्ने विश्वास व्यक्त गरे । अस्पताल स्थापनाको लागि छिट्टै टेन्डर प्रक्रिया हुने र कुनै अवरोध बिना अस्पताल बनाउनमा यहाँका नागरीकले सहयोग गर्नु पर्ने अध्यक्ष ओलीले जानकारी दिए । अस्पताल बनेपछि उपचारका लागि बाहिर जानुपर्ने समस्याको अन्त्य हुने उनको भनाइ थियो ।

प्रतिक्रिया