टिफिन बक्सले दिएको खुसी
दैलेख : साँघुरो र कच्ची सडकको केही अगाडि उघारिलो चौर छ । प्रकृतिले दिएको उपहार, हरियो दूबोको कार्पेट त्यो फराकिलो डाँडाभरी छ । यो चिसो मौषममा छिट्टै उदाउने बिहानीको पारिलो घाम । हरियो दूबो रूपी कार्पेटमा बसेर ती पारिलो र न्यायो घाम नतापी मनले नै मान्दैन । यो मनमोहक दृष्यमा बसेर पारी पट्टीको दृष्य अवलोकन नगरी बस्न सकिदैन ।
पारी पट्टी देखिने दृष्य जहाँ साना साना बालबालिका हर्षित् मुद्रामा बसिरहेका छन् । उनीहरूको झुण्ड–झुण्ड परेको समूहमा केही फरकपन देख्न सकिदैन । सबै उत्तिकै खुसी र सन्तुष्ट देखिन्छन् । कोही पानी खाँदैछन् भने कोही हात धुँदैछन् । यो दृष्य अनी यो खुसीलाई अवलोकन गर्न नजिकै पुगेपछि थाहा भयो त्यो स्कुल नेपाल राष्ट्रिय माध्यामिक विद्यालय रहेछ । जुन गुराँस गाउँपालिका–६ पिलाडीमा पर्छ । जहाँ कक्षा एकदेखि तीनसम्मका विद्यार्थीहरू खाजाको समयमा खुल्ला चौरमा बिताइरहेको समय र टिफिनको खाजासँगै उनिहरूको खुसी जो आनन्दायी दृष्य थियो ।
सामान्य रूपमा दुई सयदेखि तीन सय रूपैयाँसम्ममा किन्न पाइने टिफिन बक्सको कुरा गरिरहँदा कुनै ठूलो कुरा नलाग्न सक्छ । तर, यही सानो रकममा किन्न पाइने टिफिन बक्सका कारणले ल्याएको खुसी र सकारात्मक परिवर्तनलाई बेवास्ता गर्न सक्दैनौं । पहिलेका दिनहरूमा बालबालिका आज टिफिनको साथमा नियमित विद्यालय आउन थालेका छन् । खाजा खाने समयमा बीचैमा घर जाने र एक–दुई घण्टी पढाइ भइसकेपछि विद्यालय आउने विद्यार्थीहरू पूरा समय विद्यालयमा बस्न थालेका छन् । दश रूपैयाँको चाउचाउ झोलामा लिएर आउने विद्यार्थी आजभोली घरमै बनेको अर्गानिक खाजा लिएर आउन थालेका छन् । विद्यालयको प्रांगणमा मिलेर खाजा खाइरहेको दृष्यले बालबालिकाहरूमा सहयोगीपन, सद्भाव र मेलमिलाप पहिलेको भन्दा धेरै देख्न सकिन्छ ।
विद्यालय एउटा साझा थलो हो । जहाँ फरक–फरक पारिवारिक परिवेश भएका विद्यार्थीहरू आउने गर्दछन् । यद्यपि टिफिन बक्सका कारणले धनी र गरिबबीचको भिन्नता, फरक–फरक समुदाय र सम्प्रदायबीच हुने भिन्नता र विभेदलाई निमिट्यान्न पार्ने कोसिस गरेको छ । रङ्गीबिरङ्गी टिफिन बक्सका साथमा सबै बालबालिका एकैनासका देखिन्छन्, सबै खुसी देखिन्छन्, उत्तिकै सन्तुष्ट पनि ।
लक्ष्मी आधारभुत विद्यालय झुझका प्रधानाध्यापक लालबहादुर बिसीका अनुसार टिफिन बक्सका कारण विद्यार्थीहरूको नियमितता बढ्नुका साथै उनीहरूको घरमै बनेका खाजाहरू लिएर आउने गर्छन् । जसले बालबालिकाहरूको स्वास्थ्यमा लाभ ल्याउनुका साथ–साथै अभिभावकहरूलाई पनि जिम्मेवार बनाएको छ । ‘अभिभावक भेलामा अभिभावकहरूले आफ्ना खुसीहरू व्यक्त गर्नुभएको थियो । अहिले त हामी विद्यालयमा दिवा खाजा दिन्छांै, बालबालिकाहरू त्यहि टिफिन बक्समा खाने गर्नुहुन्छ, सरसफाईमा पनि विशेष ध्यान दिइरहेको हामीले पाएका छौं,’ प्रधानाध्यापक बिसी भन्छन् ।
टिफिन बक्स सहयात्रा दोस्रो परियोजनाद्वारा वितरण गरिएको हो । परियोजना सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा दैलेखकै गुुराँस गाउँपालिकामा सञ्चालित छ । उक्त गाउँपालिकाको ४१ वटा विद्यालयमा कक्षा एक, दुई र तीनका बालबालिकाहरूलाई लक्षित गरी टिफिन बक्स प्रदान गरिएको थियो । ४१ वटा विद्यालयका कक्षा १ का ६ सय ४६, कक्षा २ का पाँच सय ८८ र कक्षा ३ का पाँच सय ६६ जना गरी एक हजार आठ सय बालबालिकाहरूले टिफिन बक्स पाएका थिए । परियोजनाका शिक्षा संयोजक उपेन्द्र रावलका अनुसार बालबालिकाहरूलाई पढाइमा उत्साहित गराउन, विद्यालयमा नियमित बनाउन, जङ्कफुड निरुत्साहित गर्न र अभिभावकको जिम्मेवारीको बोध बनाउनका लागि पनि टिफिन बक्स वितरण गरिएको हो ।
प्रतिक्रिया