बाल हेल्पलाइन १०९८ को सेवा अब कालिकोटबाट पनि

बाल हेल्पलाइन १०९८ को सेवा अब कालिकोटबाट पनि

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले अब कालिकोटमा पनि बाल हेल्पलाइन १०९८ (दश नौ आठ) को सेवा सञ्चालन गर्ने भएको हो । नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्ले बाल हेल्पलाइन १०९८ सञ्चालनका लागि सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखलाई अनुमती दिएको हो । अनुमती पाएसँगै अब कालिकोटमा पनि जोखिममा परेका बालबालिकालाई मनोविमर्श परामर्श, उद्वार, राहत, परिवारमा पुर्नस्थापना, पुर्नमिलन र आपत्तकालिन गृह सहयोग गर्न बाल हेल्पलाइन १०९८ लागु हुने भएको हो ।
कालिकोटमा बाल हेल्पलाइन १०९८ सेवा सञ्चालन गर्न बाल हेल्पलाइन नम्बर १०९८ नेपाल सञ्चालन कार्यविधि २०७६ को दफा १४ को उपदफा ४ र ५ बमोजिम महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट (मन्त्रीस्तको निणर्य अनुसार) स्वीकृत भएको हो । परिषद्ले मापदण्ड अनुसार कालिकोट जिल्लामा पनि बाल हेल्पलाइन सेवा सञ्चालन गर्न सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखलाई अनुमती दिएको हो । कालिकोटमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले यसअघि देखिनै महिला र बालबालिका केन्द्र सञ्चालन गरिरहेको छ ।
संस्थाले दैलेखमा भने २०७३ देखि बाल हेल्पलाइन १०९८ सञ्चालन गरिरहेको छ । जिल्लामा बाल हेल्पलाइन कार्यान्वयनमा आएपछि घरपरिवार, साथी र छरछिमेकबाट हुने विभिन्न प्रकारका हिंसामा परेका बालबालिकाहरूको उद्धार गर्नेदेखि न्याय दिलाउने प्रभावकारी माध्यम बन्दै गएको छ । समस्यामा परेका बालबालिकाले १०९८ मा फोन गरेर न्याय र सेवा पाउने माध्यमका रूपमा बाल हेल्पलाइनलाई रोज्ने गरेका छन् ।
चौबिसै घण्टा खुला रहने १०९८ नम्बरको बाल हेल्पलाइन पीडामा परेका बालबालिकालाई नै सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको निःशुल्क टेलिफोन हो । संस्थाद्धारा दैलेखमा सञ्चालिन हेल्पलाइन र महिला र बालबालिका केन्द्र मार्फत मनोविमर्श परामर्श सेवा, वकालत, पैरवी र पहल, निशुल्क कानुनी सेवा लगाएत आवश्यकता अनुसार अन्य सरोकारवाला निकायसगँ समन्वय गरी रिफर गर्ने, आपतकालीन गृह सेवा, पुर्नमिलन सेवा प्रदान गरिएको संयोजक रमा श्रेष्ठले जानकारी दिइन् ।

प्रतिक्रिया