जिल्ला स्तरीय खाद्य सुरक्षा सञ्जालको बैठक

जिल्ला स्तरीय खाद्य सुरक्षा सञ्जालको बैठक

जिल्ला कृषि विकास कार्यालय दैलेखले जिल्ला स्तरीय खाद्य सुरक्षा सञ्जालको दोश्रो चौमासिक बैठक आज दैलेख सदरमुकाममा सम्पन्न गरेको छ । जिल्ला स्तरीय खाद्य सुरक्षा सञ्जालका अध्यक्ष प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जिल्लामा गरिने यस्ता बैठक र बिश्लेषण गरिने तथ्यांकले योजना निर्माण सहयोग पुग्ने बताउनुभयो ।
त्यसबखत बरिष्ठ कृषि विकास अधिकृत सूर्यनाथ योगीले जिल्लाको कृषि उत्पादन अवस्था र भइरहेका प्रयासहरु बारे जानकारी गराउनुभएको थियो । उहाँले २०६८ को राष्ट्रिय जनगणनालाई उद्धहरण गर्दै दिनुभएको जानकारी अनुसार दैलेख जिल्लामा ९२ प्रतिशत जनसंख्याले कृषि, ६ प्रतिशतले ज्याला मजदूरी र २ प्रतिशतले नोकरी तथा व्यापार गर्दछन् ।
जिल्ला कृषि विकास कार्यालय दैलेखको तथ्यांक अनुसार ७२ दशमलव ४० प्रतिशत असिंचित क्षेत्रमा खेती भइरहेको छ भने २७ दशमलव ६० प्रतिशत कृषि योग्य भूमीमा मात्र सिंचाई सुविधा छ । त्यस मध्ये पनि झण्डौ ६ प्रतिशतमा मात्र बाह्रै महिना सिंचाईं सुविधा पुगेको छ ।
कुल २८ हजारले रोजगारी पाएको कृषिबाट अन्नबाली तर्फ ८ करोड २५ लाख, बनपैदावरबाट पौने २ करोड पशुजन्य उत्पादन तर्फ ३ करोड १५ लाख आमदानी बर्सेनी हुन्छ । तरकारी, फलफूल, सुन्तला लगायतका उत्पादनबाट जिल्लाका कृषकहरुले १९ करोडको हाराहारी आमदानी गर्न सकेका छन् ।
बरिष्ठ कृषि विकास अधिकृत सूर्यनाथ योगीले जानकारी गराउनु भए अनुसार दैलेखमा चालू आर्थिक वर्ष २०७२÷०७३ मा करिब ५५ हजार मेट्रिक टन खाद्यन्न आवश्यक पर्ने मध्ये ४६ हजार मेट्रिक टन जिल्लाकै उत्पादनबाट धानिएको छ भने करिब ८९ हजार मेट्रिक टन बाहिर जिल्लाबाट आपूर्ति हुने प्रक्ष्यपण गरिएको बताउनुभयो ।
जिल्ला स्तरीय खाद्य सुरक्षा सञ्जालको बैठकमा जिल्लास्थित सरोकारवाला निकाय, कृषि क्षेत्रमा काम गरिरहेका गैसस तथा सञ्जालमा आवद्ध कृषकहरुको सहभागिता थियो ।

प्रतिक्रिया