शैक्षिक योजना तर्जुमा क्षमता विकास कार्यशाला सम्पन्न

शैक्षिक योजना तर्जुमा क्षमता विकास कार्यशाला सम्पन्न

दैलेख : दैलेखका ११ वटै स्थानीय तहहरुको शैक्षिक योजना तर्जुमा क्षमता विकास सम्वन्धी ५ दिने कार्यशाला बिहीवार सदरमुकाममा सम्पन्न भएको छ । कार्यशालामा दैलेखका सबै स्थानीय तहका सामाजिक विकास समितिका संयोजक, योजना शाखा र शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख समेत ३३ जनाको सहभागिता थियो । विद्यमान शिक्षा नीतिका समस्या, योजना निर्माण प्रक्रिया, एकीकृत शिक्षा सूचना प्रणाली, योजनामा समावेशीकरण, एकीकृत पाठ्यक्रम तथा शिक्षण सामग्री र प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको प्याकेज निर्माण विषयमा प्रयोगात्मक अभ्यास भएको थियो । कार्यशाला स्थानीय तहमा आवश्यकताका आधारमा शिक्षा योजना निर्माण गर्न सहयोगी भएको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका सामाजिक विकास समितिका संयोजक दिनेशबहादुर बिकले बताए ।स्थानीयको शैक्षिक अवस्थाको विश्लेषण, सरकारको शैक्षिक विकास रणनीति, दीगो विकास लक्ष्य प्राप्तिका लागि शिक्षा क्षेत्रमा गर्नुपर्ने लगानी र योजना कार्यान्वयन रणनीतिक सैद्धान्तिक र व्यवहारिक ज्ञान पाएको नौमूले गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख कल्पना सिंहले सुनाइन् ।
कार्यशालामा सिकिएको सीपका विषयबाट आफू धेरै खुशी रहेको ठाँटीकाँध गाउँपालिकाका योजना शाखा प्रमुख मनबहादुर थापाले बताए । योजना शाखामा नयाँ अनुभव भएको बेला योजना निर्माणका लागि आवश्यक पर्ने तथ्यांक, आवश्यकता, योजना कार्यान्वयन रणनीतिक महत्वपूर्ण लागेको उनको भनाई थियो ।
शिक्षा विकास तथा समन्वय इकाई दैलेखको आयोजनामा गरिएको कार्यशाला यूएसएड÷आरटीआईको आर्थिक तथा प्राविधिक सहयोगमा भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तेजबहादुर थापाले जानकारी दिए ।
यूएसएड÷आरटीआईले नेपाल सरकारको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमलाई आर्थिक तथा प्राविधिक सहयोग गरेको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम बालबालिकाहरुको प्रारम्भिक तहमा पढाइ सीप बृद्धिमा काम गरिरहेको छ ।
यूएसएड÷आरटीआईका श्रोत व्यक्तिहरु उपेन्द्रबहादुर भण्डारी, रामकृष्ण हुमागाईँ, नरेशविक्रम ढकाल, तेजप्रकाश रिमालले कार्यशालामा सहजीकरण गरेका थिए ।
समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले जिल्लाका सबै पालिकाका सरोकारवालाहरुका लागि एकै स्थानमा कार्यशाला गरिएको ११ वटै पालिकाले शैक्षिक योजना बनाउन एक रुपता आउनेमा बिश्वास व्यक्त गरे ।
भैरबी गाउँपालिका–३ का वडाध्यक्ष एवं भैरबी गाउँपालिका सामाजिक विकास समितिका संयोजक देबी भण्डारी, दुल्लू नगरपालिकाका शिक्षा युवा तथा खेलकूद शाखाका प्रमुख विकासजंग शाही र भगवतीमाई गाउँपालिकाका योजना अधिकृत टोपबहादुर बुढाले कार्यशालामा सिकेको सीप र ज्ञानलाई व्यवहारिक प्रयोगमा ल्याउने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया