कर्णालीमा कोरोनाबाट ३० जनाको मृत्यु

कर्णालीमा कोरोनाबाट ३० जनाको मृत्यु

दैलेख : कोरोना भाइरस संक्रमणबाट कर्णालीमा थप एक जनाको निधन भएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका अनुसार मृत्यु हुनेमा दैलेखको गुराँस गाउँपालिका–५ मा ६४ बर्षीया पुरुष हुन् । उनि गत माघ ७ गते ज्वरो, खोकी, सास फेर्नमा कठिनाई र टाउको दुख्ने समस्या सहित प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए ।
प्रदेश अस्पतालका अनुसार मृतक व्यक्ति उच्च रक्तचापको दिर्घरोगी भएको र औषधी सेवन गरिरहेका थिए । अस्पतालमा भर्ना भएकै दिन प्रदेश अस्पताल प्रयोगशालामा कोभिड–१९ परीक्षण गरिएकोमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएसँगै उनि होम आइसोलेसनमा बसेको स्वास्थ्य सेवा महाशाखाको विज्ञप्तीमा उल्लेख छ । सास फेर्नमा कठिनाई र खोक्दा रगत आउने समस्या सहित उनलाई पुनः माघ ९ गते प्रदेश अस्पतालको कोभिड–१९ आइसियुमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा आइतवार निधन भएको स्वास्थ्य सेवा महाशाखाले पुष्टि गरेको छ ।
यो सँगै कर्णाली प्रदेशमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३० जना पुगेको छ । स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतमा १६ जना, दैलेखका ७ जना, सल्यानमा एक जना, रुकुम पश्चिममा एक जना, कालिकोटका एक जना, डोल्पाका एक जना र अन्य प्रदेशका तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मृतकमध्ये २२ जना पुरुष र ८ जना महिला छन् ।
हालसम्म कर्णाली प्रदेशमा कोभिड–१९ पुष्टि भएका संक्रमितहरुको संख्या सात हजार पाँच सय १३ जना रहेको छ । ती मध्ये सात हजार दुई सय ९० जना संक्रमणबाट निको भई डिस्चार्ज भईसकेका छन् । कर्णालीमा हालसम्म ९७ हजार ५९ जनाको आरटि–पिसिआर विधिबाट कोरोना परीक्षण छ ।

प्रतिक्रिया