दैलेखमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सुरु

दैलेखमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सुरु

दैलेख : राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्र्तगत न्यूनतम प्याकेज कार्यान्वयन दैलेखमा पनि सुरु भएको छ । प्रारम्भिक कक्षामा पठन सिप लाई थप सहयोग गर्नका लागि जिल्लामा न्युनतम प्याकेज कार्यान्वयन गरिएको हो । यूएसएआईडिको आर्थिक र प्राविधिक सहयोगमा नेपाल सरकारले देशभरका ३८ जिल्लामा यो कार्यक्रम लागु गरेको छ । जिल्लाका कक्षा १ देखि ३ सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयलाई सन्दर्भ सामग्री बितरण गरिसकेको शिक्षा विकास तथा समन्वय इकाई दैलेखका प्रमुख तेज बहादुर थापाले जानकारी दिए । शिक्षण सामग्रीको व्यवस्थापनका लागि विद्यालय क्षेत्र विकास कार्यक्रम मार्फत पनि सम्पुर्ण सामुदायिक विद्यालयहरुलाई नौ हजार रुपैयाँ उपलब्ध गराइसेको थापाले बताए ।
शिक्षा विकास तथा समन्वय इकाई दैलेखका प्रमुख तेज बहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेर काम सुरु गरिएको हो । जिल्ला समन्वय समितिले पहिलो चरणमा नारायण नगरपालिका र दुल्लू नगरपालिकाका ८ वटा विद्यालयको अनुगमन गरिने जानकारी दिए ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र अनुसन्धान तथा गुणस्तर सुधार शाखाको निर्देशन अनुसार नै सरोकारवालाहरुसंग समन्वय गरि जिल्ला समन्व्य समिति गठन गरिएको संयोजक थापाले जानकारी दिए । समन्वय समितिका सदस्यहरुमा शिक्षा विकास तथा समन्वय इकाई दैलेखका प्राविधिक सहायक रतनबहादुर विष्ट, शिक्षक महासंघ दैलेखका प्रतिनिधी सन्तबहादुर खड्का, नेपाल पत्रकार महासंघको तर्फबाट तीर्थ भण्डारी, गैरसरकारी संस्था महासंघको तर्फबाट गीता बस्याल रहेका छन् । यस्तै विद्यालय व्यवस्थापन समितिको तर्फबाट महारुप खत्री, शिक्षक अभिभावक संघका प्रतिनिधी राजेश राना, विषय विज्ञको तर्फबाट भक्तबहादुर थापा, डुङ्गेश्वर गाउँपालिकाका र दुल्लू नगरपालिकाका शिक्षा अधिकृतहरु मन बहादुर गौतम र विकासजंग शाही रहेका छन् ।

प्रतिक्रिया