सेल्टर भवन निर्माणका लागि पहल गरिदिन माग

सेल्टर भवन निर्माणका लागि पहल गरिदिन माग

प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउन पुगेका दैलेख जिल्लास्थित नागरिक समाज संस्थाका प्रतिनीधि ।

दैलेख : दैलेख जिल्लास्थित नागरिक समाज संस्थाहरुले जिल्ला प्रशासन कार्यालय दैलेखमा ध्यानाकर्षण पत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारलाई ध्यानाकर्षणपत्र बुझाईएको हो । सुन्दर नेपाल संस्थाद्धारा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजनाको अगुवाईमा जिल्लास्थित नागरिक समाज संस्थाहरुले बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा हिंसा पीडित महिला तथा बालवालिकाको लागि न्याय र संरक्षण निम्ति अहिले सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले घर भाडामा लिई सञ्चालनमा आएको उल्लेख छ । सेल्टरको निर्माणाधीन भवनको छिटो निर्माण कार्य पूरा गर्न स्थानीय सरकारसँग समन्वय गरी बजेट विनियोजनका लागि पहल गरिदिनुपर्ने माग नागरिक समाज संस्थाहरुले राखेका छन् ।
ध्यानाकर्षण पत्रमा राजनीतिक क्रियाकलाप, व्यक्तिगत प्रयोजन र सार्वजनिक विदाको अवस्थामा पनि सरकारी सवारी साधन संचालनलाई रोक्नुपर्ने माग गरिएको छ । त्यस्तै रातो नम्वर प्लेटमा संचालन भइरहेका सरकारी सवारी साधनलाई तत्काल सेतो नम्वर प्लेटमा दर्ता गर्नुपर्ने नागरिक समाज संस्थाहरुले माग गरेका छन् ।
ध्यानाकर्षण पत्रमा राज्यले काम कारवाहीहरुमा नागरिक समाज संस्थाहरुको भूमिकालाई बढाउन प्रेरित गर्नुपर्ने समेत उल्लेख छ । त्यसैगरी स्थानीयतह तथा जिल्लास्तरमा कोभिड–१९ नियन्त्रण र रोकथाममा गरिएको खर्च र सोही कारण खरिद गरिएका जिन्सी सामग्रीको अभिलेख सार्वजनिक गर्न पहल गर्नुपर्ने नागरिक समाज संस्थाहरुले माग गरेका छन् । जिल्लामा नागरिकले गुनासो राख्न जिल्लामा कुनैपनि संयन्त्र नभएकोले गुनासो सुनुवाइ गर्न जिल्ला प्रशासन कार्यालयले टोल फ्री नम्वर राखी सेवा उपलव्ध गराउनुपर्ने, जथाभावी रुपमा नदी तथा प्राकृतिक जन्य वस्तुहरुको उत्खनन्, ओसारपसार कार्यलाई कानून अनुसार नियन्त्रण तथा नियमन गर्नुपर्ने, अतिक्रमण गरी अनाधिकृत तरिकावाट व्यक्तिगत तथा संस्थागत रुपमा प्रयोग गरिएको सार्वजनिक जग्गाको खोजी गर्नुपर्ने ध्यानाकर्षण मार्फत नागरिक समाज संस्थाहरुले माग गरेका छन् ।
त्यसैगरी महिला तथा बालिका माथि हुने बलात्कार, यौनजन्य दुव्र्यवहार, बहुविवाह घटनाहरु, जातीय विभेद, बोक्सी आरोपमा पीडितहरुले कानूनी उपचारमा खोजेको अवस्था यस्ता फौजदारी मुद्दामा पनि डर, धाकधम्की र प्रलोभनमा होष्टाइल गराउने क्रम बढेकोले गैरकानूनी काम निरुत्साहित गरिनुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ । नागरिक समाज संस्थाहरुले ध्यानाकर्षण मार्फत बालबालिकामा आफूखुशी बालविवाह गर्ने क्रम बढेकोले बालविवाह रोकथामका कार्यक्रम गर्नुपर्ने माग गरेका छन् ।
त्यसैगरी संचारमाध्यममा आउने अनियमितता, भ्रष्टाचार र कमजोर सार्वजनिक सेवाप्रवाहका समाचारलाई आधार वनाई आवश्यक छानविन र कानुनी कारवाही प्रक्रिया अगाडि वढाउनुपर्ने समेत ध्यानाकर्षण मार्फत माग गरिएको छ । नागरिक समाज संस्थाहरुले ध्यानाकर्षण मार्फत सदरमुकामको साँघुरो सडकमा जहाँतहीँ गाडी पार्किङ्ग गर्ने, निर्माण सामग्री थुप्राउने, व्यापारीहरुले पसलका सामानहरु बाटोसम्मै फैलाउने लगायतका क्रियाकलाप रोक्न सम्मानित जिल्ला अदालतबाट भएको परमादेश समेत वेवास्ता गरिएकोले परमादेश कार्यान्वयन गरी सदरमुकाममा सवसाधारणका लागि आवागमन सहजता, सहरको सुन्दरता र सभ्यता जोगाउन सहजीकरण गरी दिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया