टिकटक भन्दै बालविवाह

टिकटक भन्दै बालविवाह

नेपालगन्जको बागेश्वरी मन्दिरमा बालविवाह गर्दागर्दै पक्राउ परेको जोडी।

नेपालगन्ज : नेपालगन्जस्थित बागेश्वरी मन्दिरको जुँगे महादेवमा शुक्रबार बिहान एक जोडीको विवाह हुँदै थियो। केटाकेटी दुवै जना २० वर्षभन्दा कम उमेरका देखिन्थे। सिन्दूर हालेपछि भिडियो बनाउन थाले। ‘तर, १० रुपैयाँमा किनेको सबै सिन्दूरले सिउँदो भरेको देख्दा मलाई शंका लाग्यो’, प्रत्यक्षदर्शी एक किशोरीले भनिन्, ‘मैले सोध्दा टिकटक बनाएको जवाफ दिए। त्यति भनेर उनीहरू डराएर भाग्न थाले।’ मन्दिरको सुरक्षार्थ तैनाथ प्रहरीले तत्काल पक्राउ गर्यो। तर, केटाले टिकटक  बनाएको भनेर अडान छाडेनन्। जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका ज्येष्ठ नागरिक सेवा केन्द्रमा दुवै जनालाई अलग–अलग राखेर सोधपुछ गर्दा मात्र विवाहको रहस्य खुल्यो।

‘बुवाको मृत्यु भइसकेको छ। आमा विदेश हुनुहुन्छ। हामीले भागेर बिहे गरेका हौं’, बेहुलीले प्रहरीसमक्ष भनिन्, ‘बालविवाह गरेको थाहा पाएपछि प्रहरीले जेल हाल्छ भन्ने डरले टिकटक भनेका हौं।’ कोहलपुर नगरपालिकाका उनीहरू परिवारले स्वीकार नगर्ने डरले अन्तरजातीय र अन्तरधार्मिक बिहे गर्न मन्दिर पुगेका थिए। एउटै वडाका उनीहरू कक्षा ८ का विद्यार्थी रहेछन्। प्रहरीले उमेर पुगेपछि मात्र विवाह गर्ने सर्तमा बेहुलीलाई उनकी फुपू र बेहुलालाई बाबु बोलाएर जिम्मा लगाएको छ।

बाँकेमा विभिन्न बहाना गरेर बालविवाह गरेको यो नै नौलो घटना भने होइन। ‘नेपालगन्ज–१९ मा ६ महिनाअघि बालविवाह भइरहेको थाहा पाएर हामी गयौं। त्यहाँ एक जना बालकको कपाल खौरिएर मुण्डन भइरहेको भनियो। हामी फर्कियौं। ढाँटेर विवाह गरेछन्’, महिला तथा बालबालिका ज्येष्ठ नागरिक सेवा केन्द्रकी प्रहरी सहायक निरीक्षक श्यामकुमारी पाइजा मगरले भनिन्, ‘बालविवाह भइरहेको ठाउँमा प्रहरी पुग्दा बेहुली लुकाएर दिदीलाई देखाउने पनि गरे। कसै–कसैले त बर्थ डे पार्टी भनेर ढाँटे। बिहे गर्न उमेर बढाएर जन्मदर्ता नै गर्ने गरेका छन्।’

नेपालगन्ज उपमहानगरपालिकामै एक बालिका २० वर्षकी नभएपछि टोल भेलाले उमेर बढायो। नेपालगन्ज–१० का कार्यपालिका सदस्य नरबहादुर विष्टले एक वर्षअघिको घटना सम्झे, ‘समाजका व्यक्तिहरू बसेर सर्जिमिन गरी केटीको उमेर २० वर्ष पुगेको छ भनिदिए। केटी हर्लक्कै बढेकी थिई। हामीले पनि एक पटकका लागि हुन्छ भनिदियौं।’

बाँकेका ८ वटै स्थानीय तहलाई बालविवाह मुक्त घोषणा गरिएको छ। तर, समाजमा बालविवाह रोकिएका छैनन्। केही दिनअघि मात्र महिला तथा बालबालिका ज्येष्ठ नागरिक सेवा केन्द्रमा खजुरा गाउँपालिका–२ का २१ वर्षका अर्जुन परियारविरुद्ध  बहुविवाहको उजुरी पर्यो। ‘डुडुवा गाउँपालिकाबाट २ महिनाअघि १८ वर्षीया किशोरीलाई बिहे गरेर ल्याएका रहेछन्। उनी ७ दिन माइत बसेकै बेला फेरि साथीकी १८ वर्षकी पत्नीलाई खजुराबाट भगाएछन्’, प्रसनि मगरले भनिन्, ‘दुुबै केटीका आमाले मुद्दा नचलाउने भनेपछि केटालाई बाबुको जिम्मा लगायौं।’

बाँकेमा ३ वर्ष अवधिमा सय वटा बालविवाह रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ७ जनालाई त प्रहरीले विवाहको मण्डपबाटै उठाएर ल्याएको थियो। फेरि विवाह नगर्ने सर्तमा सम्बन्धित वडाका जनप्रतिनिधिको रोहवरमा उनीहरूलाई छाडियो। ९ जनाविरुद्ध मुद्दा दायर गरी अरू सबैलाई उमेर पुगेपछि बिहे गराउने सर्तमा अभिभावकको जिम्मा लगाइएको छ। अन्नपूर्ण

प्रतिक्रिया