बालबालिकाले दिए प्रधानमन्त्रीलाई लिखित सुझाव

बालबालिकाले दिए प्रधानमन्त्रीलाई लिखित सुझाव

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अगुवाइमा तयार हुन हुने बालबालिकासम्बन्धी १० वर्षे राष्ट्रिय कार्ययोजना तथा नीतिमा नेपालका बालबालिकाहरुको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

कन्सोर्टियम नेपालको नेतृत्वमा चैत्र ७ र ८ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलामा सहभागी बालबालिकाहरुले तयार गरेका सुझाव बालबालिकाहरुले प्रधानमन्त्री ओली र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमार महतोलाई लिखित सुझाव दिएका हुन् ।

जागृति बाल तथा युवा सरोकार नेपाल, बाल विकास समाज, मानव अधिकार मञ्च, कालिका स्वावलम्वन सामाजिक केन्द्र, सिविन नेपाल, शुभ अवसर ग्राम नेपालको सहआयोजना, बाल अधिकारसँग सम्बन्धित १७ वटा राष्ट्रिय सञ्जालहरुको एक्यवद्धता तथा १४ वटा विकास साझेदार संस्थाहरुको सहयोगमा आयोजित कार्यक्रमको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले गरेका थिए ।

राष्ट्रिय बाल अधिकार परिषद्को सल्लाह, सुझाव र परामर्शमा सातै प्रदेशका ६० जिल्लाका १३८ जना बालबालिकाहरुसँग परामर्श पश्चात यस राष्ट्रिय भेलाको आयोजना गरिएको कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले जानकारी दिए ।

प्रधानमन्त्री तथा माननीय मन्त्रीबाट नै बालबालिकाहरुले दिनु भएको सुझावमा प्रत्यक्ष सहभागी भई चासो व्यक्त गर्नु र कार्यान्वयनमा प्रतिवद्धता व्यक्त गर्नु सुखद् र खुसीको कुरा भएको राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले बताए ।

प्रतिक्रिया