कर्णालीमा एप्स मार्फत एम्बुलेन्स सेवा

कर्णालीमा एप्स मार्फत एम्बुलेन्स सेवा

दैलेख : नयाँ भेन्टियर कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएपछि महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि तयारी थालिएको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन र स्थानीय तहले आवश्यक पहल गरिरहेका बेला प्रदेश तहबाट पनि तयारी थालिएको छ । कोरोना संक्रमणलाई लक्षित गर्दै कर्णालीमा एप्स मार्फत एम्बुलेन्स सेवा सञ्चालन गरिने भएको छ ।
बिहीवार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले एम्बुलेन्स सेवाका लागि एप्स सञ्चालनमा ल्याउने निणर्य गरेको छ । कर्णालीमा सञ्चालन हुने एम्बुलेन्सहरुको सेवा दिने स्थल छनौट र सेवा प्रदायक संस्थाहरु छनौट पक्रिया निर्धारण गरिनेछ । जिपिएस मार्फत एम्बुलेन्स सेवा व्यवस्थापन प्रणाली ‘एम्बुलेन्स सर्भिस म्यानेजमेन्ट इन्फरमेशन सिस्टम’ को एप्स सञ्चालन गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले आवश्यक कार्य गर्नेछ । बैठके तत्काल १० वटा एम्बुलेन्स भाडामा लिएर सञ्चालन गर्ने विकट जिल्ला र क्षेत्रको हकमा हेलिकप्टर सहितको व्यवस्था गर्ने निणर्य गरेको छ ।
यस्तै बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र उपचारका लागि खरिद गर्न आवश्यक स्वास्थ्य सामग्रीहरु विशेष परिस्थिती अनुरुपको पक्रिया अपनाई खरिद गर्ने निणर्य गरेको छ । त्यसका लागि सामाजिक विकास मन्त्रालयले प्रदेश सरकार मन्त्रिपरिषद्मा स्वीकृतीका लागि पश्ताव पेश गर्नेछ । कोभिड संकट व्यवस्थापनका लागि आवश्यक जनशक्ति पूर्ति गर्न र बजेट सहितको एकीकृत सेवा व्यवस्थापन गर्ने तथा संकट व्यवस्थापनका सम्बन्धि ठोस योजना बनाउने निणर्य बैठकले गरेको छ ।
यस्तै कोभिड बिरामीहरुको उपचार सेवालाई प्रभावकारी बनाउन कोभिड सम्बन्धी विशेष अस्पतालहरुलाई सहयोग र निर्देशन दिने जिम्मा सामाजिक विकास मन्त्रालयलाई दिईएको छ । बैठकले कर्णाली प्रदेश अन्तरगर्तका कोभिड अस्पतालहरुमा चौबिसै घण्टा विद्युत आपूर्ति गर्ने, स्थानीय तहको लागि कोभिड–१९ व्यवस्थापनका लागि सहयोग गर्ने र स्थानीय तहलाई पठाईएको रकमको प्रगति विवरण बुझ्ने निणर्य समेत गरेको छ ।
प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण दिन प्रतिदिन समुदाय स्तरमा फैलिईसकेकोले नियन्त्रण र उपचारमा कठिन हुने भन्दै औपचारिक कार्यक्रममा बढिमा २५ जना र अनौपचारिक कार्यक्रममा बढिमा ५ जना भन्दा बढि भेला हुन नदिने निणर्य गरेको छ । आवश्यक सुरक्षा सतर्कता अपनाउनका लागि प्रमुख जिल्ला अधिकारी मार्फत सुरक्षा निकायहरुले कडाईका लागि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउने व्यवस्था मिलाउने निणर्य गरेको छ । यस्तै कोभिड आइसोलेसनको लागि आवश्यकता अनुसार निजी क्षेत्रका होटेलहरुलाई सुरक्षा मापदण्ड सहित उपयोग गर्ने निणर्य बैठकले गरेको छ ।

May be an image of text

प्रतिक्रिया