कोरोना रोकथाममा बजेट अभाव

कोरोना रोकथाममा बजेट अभाव

जिल्ला प्रशासन कार्यालय दैलेख ।

दैलेख : केहि महिना अघिसम्म कोरोना भाइरस संक्रमितको संख्या शुन्य रहेको दैलेख जिल्लामा हाल दिनहुँजसो संक्रमितहरुको संख्या थपिँदै गएको छ । भारत लगायतका मुलुकहरुमा बढी प्रभाव पारेको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट तिब्र गति फैलिईरहेको छ । संक्रमणबाट बच्न भारतबाट जन्मथलो फर्किने नागरिकहरुको संख्या उच्च छ । स्थानीय प्रशासनले जिल्लाभित्रको आन्तरिक आवागमन, विवाह, ब्रतबन्ध तथा चाडपर्व लगायतमा जनस्वास्थ्यका मापदण्डहरु पालनामा कडाई गर्न नसक्दा र नागरिकहरुको हेलचक्राईका कारण संक्रमण थप जोखिमपूर्ण हुँदै गएको छ । यस्तो अवस्थामा कोरोना संक्रमण रोकथामका लागि बजेट अभाव रहेको पाईएको छ । जिल्लाका ११ वटै स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति र स्वास्थ्य सेवा कार्यालयमा कोरोना भाइरस संक्रमणको परीक्षण, उपचार, रोकथाम र नियन्त्रणका लागि आवश्यक व्यवस्थपकीय कार्यहरु गर्न आवश्यक भएको बजेट अभाव रहेको पाईएको छ । बजेट अभाव रहेको भन्दै मंगलवार बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले संघीय र प्रदेश सरकारसँग बजेट माग गर्नेै निणर्य गरेको छ ।
प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको बैठकले जिल्ला विपद् व्यवस्थापन समितिमा ७५ लाख, स्वास्थ्य सेवा कार्यालयमा ७५ लाख र दैलेखका ११ वटै स्थानीय तहहरुमा ५० लाखका दरले आवश्यक बजेट व्यवस्थापन गरिदिन नेपाल सरकार र कर्णाली प्रदेश सरकारलाई अनुरोध गर्ने निणर्य गरेको हो । बैठकले कोभिड–१९ को संकट व्यवस्थापनका लागि बजेट अभाव हुन नदिन स्थानीय तहमा चालु आर्थिक वर्षमा सम्झौता भईनसकेका र बजेट फ्रिज हुने खालका योजनाहरुबाट बजेट रकमान्तर गरी कोरोना भाइरस संक्रमण रोकथाम र उपचारमा खर्च गर्न अनुरोध गर्ने निर्णय गरेको छ । प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्मा, जिसस प्रमुख प्रेमबहादुर थापा, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख थीरप्रसाद रेग्मीको उपस्थितीमा बसेको बैठकले स्वास्थ्य सेवा कार्यालय र स्थानीय तहहरुमा दरबन्दी अनुसारका चिकित्सकहरुको व्यवस्थापनका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने निणर्य समेत गरेको छ ।
बैठकले जिल्लाका सीमा नाकाहरुमा संचालित हेल्थ डेक्सहरुलाई सम्बन्धित स्थानीय तह, स्वास्थ्य सेवा कार्यालय र प्रहरीको समन्वयमा आवश्यक साधन र जनशक्ति परिचालन गरी थप प्रभावकारी बनाउने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । उनका अनुसार उक्त नाकाहरुमा भारत लगायत जिल्ला बाहिरबाट आउने शंकास्पद व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिनेछ । ‘जिल्लाका स्थानीय तहहरुले विगत वर्षमा प्रयोग गरिएका विद्यालय बाहेकका आइसोलेसनहरुलाई आवश्यकता अनुसार पुनः प्रयोगमा आउने गरी तयारी अवस्थामा राख्ने निणर्य भएको छ,’ प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भने ‘प्रत्येक स्थानीय तहमा तत्काल अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गरिनेछ ।’ प्रमुख जिल्ला अधिकारी प्याकुरेलका अनुसार यहि बैशाख २६ र २७ गते हुन लागेको दैलेख उद्योग बाणिज्य संघको अधिवेशन तथा निर्वाचनलाई कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी अधिवेशन र निर्वाचन स्थगित गर्न निर्देशन समेत दिईएको छ ।

प्रतिक्रिया