अक्सिजन अभाव भएपछि कोभिड अस्पताल सारियो

अक्सिजन अभाव भएपछि कोभिड अस्पताल सारियो

कर्णाली प्रदेश अस्पतालस्थित कोरोना विशेष अस्पताल ।

सुर्खेत : अक्सिजन अभाव भएपछि ‘कोभिड विशेष अस्पताल’ लाई उत्तरतर्फको पुरानो भवनमा सारिएको छ । प्रदेश अस्पतालको पुरानो भवनमा अक्सिजन प्लान्ट जडान भएकोले कोभिडका बिरामीको बढ्दो चापलाई उपचार गर्न सहज हुने अस्पतालको भनाइ छ ।

अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलका अनुसार गम्भीर अवस्थाका करिब १० जनाबाहेक अक्सिजन प्रयोग गरिरहेका अन्य बिरामीलाई सार्न सुरु गरिएको छ । अहिले कोरोना विशेष अस्पतालमा ४५ जना संक्रमित छन् । ‘आज (आइतबार) बिहानैदेखि बिरामीलाई पुराना भवनमा सारिरहेका छौं, जटिल अवस्थाका बिरामीलाई सार्न समस्या हुने भएकोले नयाँ भवनकै कोरोना वार्डमा उपचारको प्रबन्धन मिलाइरहेका छौं ।’

अस्पतालले पुरानो भवनमा करिब १ सय जना संक्रमितलाई उपचार गर्न सकिने जनाएको छ । त्यहाँ रहेका १६ वटा आइसीयू बेडमा अक्सिजन प्लान्टबाट सिधै (सिलिन्डरबिनै) अक्सिजन आपूर्ति हुन्छ । अन्य बेडमा भने सिलिन्डरबाट अक्सिजन आपूर्ति गर्ने व्यवस्था मिलाइएको डा. पौडेलले बताए ।

पुरानो भवनमा रहेको अन्तरंग विभाग (इन्डोर) लाई नयाँ भवनमा सारिएको छ । इमर्जेन्सी र प्रशासन विभागलाई पनि सार्ने तयारी भइरहेको अस्पताल निर्देशक डा. डम्बर खड्काले बताए । उनका अनुसार कोभिड अस्पताल रहेको नयाँ भवनमा पनि अक्सिजन प्लान्ट जोड्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

नयाँ भवनमा पनि अक्सिजन प्लान्ट जोडिएमा तत्कालको लागि अक्सिजनको समस्या नहुने निर्देशक डा. खड्काको भनाइ छ । सुर्खेतमा संक्रमितको संख्या बढिरहेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार शनिबारसम्म कर्णाली प्रदेशभर १ हजार ६ सय ३३ जना सक्रिय संक्रिमत रहेकामा सुर्खेतमा मात्र ९ सय ३४ जना छन् । संक्रमित ५० जनाको मृत्यु भएको छ ।

कोभिड अस्पतालका फोकल पर्सन डा. पौडेलले दैनिकजसो २–३ जना कोरोनाका बिरामी अस्पताल पुग्ने गरेका बताए । तर तिनीहरुको लक्षण र अवस्था हेरेरमात्र भर्ना गर्ने गरिन्छ ।

‘कतिपय संक्रमित त सामान्य अवस्थामा भए पनि आत्तिएर आउँछन्, हामीले परामर्श गरेर औषधि दिएर पठाउँछौं,’ उनले भने, ‘आएजति सबैलाई भर्ना गर्ने हो भने त एक–दुई दिनमै थेग्न हम्मे हुन्छ ।’ अक्सिजन आवश्यक पर्ने जटिल खालका बिरामीलाई मात्र भर्ना गर्ने गरिएको उनले बताए । कान्तिपुर

प्रतिक्रिया