दैलेख अस्पतालमा तीन महिनापछि सीएस सेवा सुरु

दैलेख अस्पतालमा तीन महिनापछि सीएस सेवा सुरु

दैलेख : जिल्लाकै ठूलो अस्पताल दैलेख अस्पतालमा शल्यक्रियाबाट प्रसुती सेवा सुचारु भएको छ । विगत ३ महिनादेखि बन्द भएको सेवा मंगलवारबाट सुरु भएको हो । जनशक्ति अभावमा रोकिएको शल्यक्रियाबाट प्रसुती सेवा सुचारु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । अस्पतालमा तीन महिनायता रोकिएको जटिल प्रकारका गर्भवतीको शल्यक्रियाको उपचार सिजरिएन सेक्सन (सिएस) सेवा सुचारु भएको हो ।
सेवा सुरु भएसँगै मंगलवार राती एक जना गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । मंगलवार राती ती गर्भवतीको शल्यक्रियाबाट बच्चा जन्माइएको दैलेख अस्पतालका डा. जगत थापाले बताए । अस्पतालका डाक्टर थापा र डा. जीवन ज्ञवालीको टोलीले गर्भवतीको सफल शल्यक्रिया गरेको हो । एनएसथेसिया एसिस्टेन्ट नुहँदा गर्भवतीको शल्यक्रियाबाट प्रसूति सेवा रोकिएको डा. थापाको भनाई छ । ‘एनएसथेसिया एसिस्टेन्टको रुपमा कृष्ण जोसी आउनुभएकोे छ,’ डा. थापाले भने ‘अब शल्यक्रियाबाट प्रसूति गराउन परे गर्भवतीको रेफर नै गर्नुपर्ने बाध्यता हटेर गएको छ ।’
सेवा बन्द रहँदा शल्यक्रियामार्फत प्रसूति गराउन परे सुर्खेतस्थित प्रदेश अस्पताल तथा नेपालगंज पठाउनु पर्ने बाध्यता थियो । दैलेख अस्पतालमै सेवा नहुँदा जिल्लाका सर्वसाधारण आकस्मिक प्रसूति शल्यक्रियाका लागि महँगो मूल्य तिरेर सुर्खेत तथा नेपालगंजसम्म पुग्नु बाध्यता हटेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया