झुसिल्किराले सालघारी सखापः स्थानीयको आयआर्जनमै प्रभाव
“लागे चैतको मैना उराठिला बन,
डाँडाको बतास जस्तै उडि जाने मन ।”
यो लोकभाकामा भनेजस्तो चैतमा मात्रै दैलेख सदरमुकाम नजिकको जंगल उराठ थिएन गतबर्ष ।पालुवा पलाउन शुरु हुने बैशाख महिनादेखिनै जंगलका सालका रुखमा झुसिल्किरा लागेपछि सिख्रै हुँदै गए । र यो बर्ष वैशाख र जेठमा पनि ती सालका रुखमा पहिलेको जस्तो पालुवा पलाएका छैनन् । केही सामुदायिक वनका सालमा पालुवा पलाएपनि फेरि कीराले खान थालेपछि सालका रुख उस्तै उराँठलाग्दा देखिन्छन् ।
दैलेख सदरमुकाम आसपासका १४ वटा सामुदायिक वन र अरु निजि तथा राष्ट्रिय बनक्षेत्र हेर्दाहेर्दैै उजाडिदै गएको छ । गत बर्षको बैशाखमै वनमा पतझडको समय कसरी आयो होला भन्दै स्थानीयहरु अचम्ममा परेका थिए । तरपनि उनीहरुले यसलाई सामान्य रुपमा लिए ।
बिस्तारै सालका पातहरुमा प्वाल पर्दै गएको देखिन थाल्यो । स्थानीयहरुले बल्ल थाहा पाए सालको पातमा त कीरा पो लोगेको रहेछ । हरियो बनसुकेर खडेरी शुरु हुन लागे जस्तो देखिन्थ्योे । कीराले खाएपछि रुखहरुमा पातका काण्डमात्र देखिन थाल्यो । स्थानीयहरुका अनुसारसालको पातमा१५÷२० वटासम्म झुसिल्किरा देखिन्थे ।
घरनजिकैको मध्यवर्ती वनकी वनपाले सिता मल्ल भन्छिन्, ‘त्यो संगै माकुराको जस्तो जालो रेशाले रुख जेलिएको देखिन थाल्यो । त्यसपछि जंगलको बाटो भएर ओहरदोहर गर्नेको अनुहारमा टाँसिने,छाला चिल्हाउने, फोक्का उठ्ने,अनुहारमा रातो दाग बस्नेजस्ता समस्या देखिन थाल्यो ।’त्यसपछि स्थानीयहरु जंगलको बाटो नै हिड्न छाडेको मल्लले बताइन् ।
गएको एक बर्षदेखि नै एक पछि अर्को रुख अनिएक ठाउँपछि अर्को ठाउँ गर्दै क्रमश सालघारीहरु पातविहिन बन्दै गएको छ । यो सबै देखेका स्थानीयहरु अत्तालिएका छन् ।गत बर्षको असारमा भारतहुँदै नेपाल पसेको सलहले पो यस्तो भएकोे हो कि भन्ने अड्कल काटेर बसेको स्थानीय बुढापाकाहरु बताउँछन् । तर सलह रोकिएपनि यो सालघारी झन् कुरुप बन्दै गएपछि स्थानीयहरु थप चिन्तितमात्रै बनेका छैनन् । कीराको प्रकोपले खेतवारीका बालीमा पनि नोक्सान गर्नेदेखि बन र बनजन्य व्यवसायहरु प्नि संकटमा परेकोसमेत पाइएको छ ।
स्थानीयहरुजंगलमा घाँस काट्न जादा झुसिल्किराको झुसले छाला चिलाएपछि घाँस काट्न जान छाडेका छन् । ‘हामीले गाउँवस्तुलाई खुवाउन घाँस काट्न जानै सकेनौं । न त स्याउला लिन बनमा जान सकेका छौं,’ सीता मल्लले घरको पिढीबाट झुसिल्किरा बढारेर थुपारेको थुप्रो देखाउँदै चैतको अन्तिम साता गुनासोे गरिन् । मल्लले थपिन्, ‘झुसिल्किराले गर्दा घरै छोडेर अन्तै जान पाए हुन्थ्यो जस्तो भएको छ ।’
। हेर्दा र सुन्दा यो सामान्य खालको देखिने प्रकोपले यहाँको जनजीवन नै प्रभावित पारिसकेको छ । तर स्थानीय सरकारदेखि वन कार्यालयसम्मका अधिकारीहरु यसवारे अनविज्ञजस्तै देखिन्छन् ।
बन्द भयो खड्काको बाख्रा फार्म
नारायण नगरपालिका वडा नं. ९का युवा उद्यमी महेन्द्र बिक्रम खड्काले केहि आफ्नै जग्गा र सँगै जोडिएको खाली जग्गा भाडामा लिएर बाख्रा पालन शुरु गरेका थिए ३ बर्ष पहिले । ५० वटा बाख्राबाट शुरु भएको बाख्राफार्मलाई पनि झुसिल्किराको प्रकोपले संकटमा पारेको छ । आफ्नै जग्गाको डाले घाँसमा पनि झुसिल्किराले नोक्सान पुर्याएपछि खड्काले बाख्रालाई घाँसजुटाउनसकेनन् । बनमा गएर घाँस ल्याउन पनि सकेनन् त्यसैले गत बर्ष नै उनले फार्म गरेका छन् ।
। उनले बारीको साझ, नेपीयर आदि घाँस र चरन क्षेत्रमा चराएर अनि नजिकैको सामुदायिक बनको घाँस खुवाएर एकबर्ष सम्म त राम्रै गरी बाख्रा पालेका थिए तर दोस्रो बर्ष लाग्दा नलाग्दै अर्थात् ०७७ बैशाख महिनामै बनका रुखमा पात नासिदै गयो । पोहोरको बर्खासम्म त जेनतेन थेगिएको थियो । खड्काले भने, ‘तर सालको जंगल हुँदै साझको रुखमा समेत प्रकोप देखिएपछिमैले बाख्राफार्म नै बन्द गर्नुपर्यो ।’ बाख्रा फार्म बन्द गर्नुपरेपछि लगभगदश लाख रुपैयाँ नोक्सान भएको खड्काले बताए ।
टपरी उद्योग नै बन्द भयो
सालघारीमा सालको पात कीराले खाएर सखाप पारेपछि नारायण नगरपालिका वडा नं. १ रातिमाटेका ३६ घरधुरीका दलितहरुको सामूहिक टपरी उद्योग पनि धराशायी भएको छ । यो उद्योग उनीहरुले एक गैरसरकारी सस्थाको सहयोगमा केही बर्षपहिले स्थापना गरेका थिए ।आयआर्जन र जिविकोपार्जनका लागि दैनिक कामको खोजीमा दैलेख बजार जाने र ज्यालादारीमा मात्रै काम गर्ने उनीहरुको दैनिकी हो । यो नयाँ उद्योगले ती दलित परिवारमा भरथेग गरेको थियो र भविष्यमा आत्मनिर्भर हुन सक्ने आशा समेत जगाएको थियो ।
२०६७ सालताका स्थानीय भुमिहीन १० जना महिलाहरुको समुह गठन भयो । लघु उद्यम विकास कार्यक्रम अन्तरगत, जिल्ला लघु उद्यमी समूह संघको सहजीकरणमा २ लाख ५० हजार अनुदान उपलव्ध गराएको थियो । तत्पश्चात् सामुदायिक बनको सहायतामा साझा सुबिधा केन्द्र भवन निर्माणका लागि ३ लाख ५० हजार लागतमा पूर्वाधारसहित टपरी उद्योग संचालित थियो ।
उत्पादित टपरीलाई ‘दैलेख कोशेली घर’मार्फत बजारमा बिक्री हुन्थ्यो । दैलेख र सुर्खेतको बजारको मागलाई थेग्दै आएको थियो उद्योगले । मासिक एक लाख सम्म उत्पादन क्षमता भएको टपरि उद्योग अहिले बन्द छ । नियमित पातको अभावसंगै लामो समय बन्द हुँदा अहिले उपकरणमा समेत समस्या देखिएको छ । “कोभिड १९ को महामारीको अवस्थामा पनि टपरीको उच्च माग हुँदाहुदै उत्पादन गर्न नपाउदा धेरै हाम्रो सानै भएपनि कमाई हुन्थ्यो त्यो पनि खत्तम भयो ।” उद्योगकी अध्यक्ष अमृता नेपालीले दुःखेसो गरिन् ।
जनस्वास्थ्य पनि प्रभाव
नारायण नगरपालिका वडा नं. ७ किमुगाँउ ठकुरीटोलका स्थानीय किसान थिर बहादुर मल्ल नजिकैको खेतवारी आउँजाउँ गरिरहन्थे । तर गत माघमा नियमित खेतवारी आउने जाने क्रममै मल्लको आँखामा एक्कासी पोल्न थाल्यो । असह्य पीडा भएपछि उनले दैलेख बजारस्थित रेडक्रसको सोसाईटिको आँखाउपचार केन्द्रमा गएर आँखा जँचाए । अनि बल्ला थाहा भयो कि झुसिलकिराको झुस बिझेपछि त्यस्तो समस्या परेको रहेछ। त्यतिबेला उनको खेतसँगै जोडिएको सालघारीमा झुसिलकिराको प्रकोप व्यापक भइसकोको थियो ।
झुसिल्किराले खाएको घाँसले भैसी मर्यो
नारायण नगरपालिका वडा नं. ८ ढकानेका दिपक खनाल भैसी पाल्छन् । दुध बेचेर परिवारको गर्जो टार्ने गरेका खनाललाई नजिकैको जंगलबाट ल्याएर खुवाएको घाँसले गत मंसिरमा ठूलै विपत्ति आइलाथ्योे । केही समय त झुसिल्किराको डरले उनले जंगलमा घाँस काट्न गएनन् । तर घरमा भएको पराल सकिएपछि उनीसँग अर्को केही उपाय भएन । घरनजिकैको सालघारीबाटै घाँस ल्याए उनले । अनि आँखाले देखेसम्म भेटिएका झुसिल्किराफालेर घाँस खुवाएका थिए उनले । भैसी अर्को दिन विरामी पर्यो पेट फुल्ने, केही नखाने भयो । दुई भैसीमध्ये एउटा भैसी चारौ दिनपछि मर्यो ।उनीसँग अव एक वटाभैसी बाँकी छ । दुहुना भैसी मरेपछि उनको आम्दानी घट्दा बिलखबन्दमा परेका छन् ।
जंगल छेउका सयांै किसानहरु यो प्रकोपबाट प्रत्यक्ष वा अप्रत्यक्ष पीडित बनेका छन् । जंगल छेउछाउका खेतीपाती र खासगरी तरकारी खेतीलाई पनि पिरोलेको छ झुसिल्किराले । स्थानीय दिलसरा मल्ल भन्छिन्, “जंगलसखाप पा¥यो, अहिले फेरि घरवरिपरि लगाएको तरकारीसमेत खाइसकेको छ किराले । अनि घरवरिपरि पनि फैलिएपछि दिनरात बढारेरै बस्ने काम मात्र हुन थालेको छ ।”
जंगलमा सालको रुखबाहेक साझ,मौवा,आँपको रुखसमेत सिख्रै बनेको छ । यो बर्ष नियमित रुपमा सालका बिरुवाहरुमा नयाँ मुनासहित पालुवा पलाउन त थाल्यो तर तर फेरी झुसिल्किरा सल्बलाइसकेका छन् । घना जंगली क्षेत्रको भुईहरुमा झुसिलकिराको झुसकै थुप्रो लागेको छ,बिरुवाहरुमा पनि जालो लागेको छ ।सामुदायिक वन उपभोक्ता समूहहरुले यो समस्यावारे छलफल गर्न बैठक बसेका छन् । उनीहरु यो समाधान गर्न स्थानीय सरकार प्रदेश सरकारलाई गुहार्ने तयारी गरिरहेका छन् ।
लामो समय सम्म पनि हिउदे बर्षा नहुदा जंगलमा बैशाख पहिलो सातासम्म प्रसस्त मात्रामा झुसिल्किराहरुका लार्भा, प्युपा र पुतलीसंगै मेलीवग्स नाम गरेको अर्को किरा पनि देखिएको थियो । यसबाट फेरि उनीहरु थप चिन्तित बनेका थिए ।यो प्रकोप डिभिजन वन कार्यालय,दैलेखकाअधिकृतहरुले देखेका छन् । तर उनीहरु पनि यसको कारणवारे स्पष्ट बताउन सक्दैनन् ।
कार्यालयका वन अधिकृत शंकर पुरीका अनुसार दैलेख जिल्लाको दर्जन भन्दा बढी सामुदायिक तथा राष्ट्रिय बन क्षेत्रहरुमा यो झुसिलकिराको प्रकोप फैलिएको छ । यी वन क्षेत्रमा सोरिया रोबस्ट्रा प्रजातीको सालका रुखहरु बढी पाइन्छन् ।
बन अनुसन्धान तथा प्रशिक्षण केन्द्र सुर्खेतका अनुसन्धाता कमल अर्यालका अनुसार अध्ययनका क्रममा लाईमेन्सिया माथुरा नामक किराको प्रकोपलेयस्तो भएको अनुमान छ । अर्याल भन्छन्, ‘यसबारे नेपालमा अहिले सम्म खासै कुनै किसिमको अध्ययन नभएको तथा एकपटक देखा परेपछि बर्षौसम्म नदेखिने भएकाले यो अध्ययनको बिषय बन्न नसकेको यो कीरा मोथ प्रजातीमा पर्दछ ।’
सालको रुखको लागि अभिसाप जस्तो देखिएको यस किसिमको प्रकोपले सालको रुखको बृद्धि विकासमा प्रत्यक्ष पभाव पार्ने कुरा अर्यालले बताएका छन् । यसरीनै नियमित पात सखाप पार्ने हो भने सालको रुखनै सुक्दै गएर जंगली क्षेत्र उजाड हुन सक्ने चिन्ता व्यक्त गर्छन् सहायक बन अधिकृत शंकर पुरी ।
लाईमेन्सिय माथुरा के हो ?
यो सालको रुखमा संक्रामक रोगको रुपमा देखा परेको यो किराको एउटा प्रजाती हो । केही दशकअघि देखिएको भएपनि नेपालमा भने यस प्रजातीको बारेमा अध्ययन नभएको कुरा वन अधिकृत तथा अनुसन्धाताहरु बताउँछन् । यसको अण्डाबाट लार्भा बनेपछि निकै खन्चुवा हुन्छ । यसले खासगरि साल खान मन पराउँछ । एक पछि अर्को गर्दै रेशाजस्तो जालोको माध्यमबाट एक रुखबाट अर्को रुखमा सर्दै जान्छ । क्रमशःसबै जंगलकै पात खाएर सखाप पार्ने रहेछ । अनि सालका रुखहरु नांगै हुन्जेल पात खाइदिने रहेछ । यसरी रुखले पनि पातमै उसको खाना तयार गर्ने र यसरी बर्षैभरि पातमा कीरा लाग्दा रुखको पनि विकास हुन नसक्ने वनविज्ञहरु बताउँछन् । गएको बर्षैभरि रुख सिख्रै हुँदा रुखका अधिकांश टुप्पो सुकेको देखिन पनि थालेको स्थानीयहरु बताउँछन् ।
वन कार्यालयका अनुसार प्रकोपमा परेका सामुदायिक वन र त्यसको क्षेत्रफल यसप्रकार छ :
यो आलेखरफिचर इन्टरन्युजरअर्थ जर्नालिज्म नेटवर्कको सहयोगमा एन्टेना फाउण्डेशन नेपालले सञ्चालन गरेको वातावरण पत्रकारिता रिपोर्टिङ कार्यशालापछी तयार पारिएको हो।‘
प्रतिक्रिया