भैरबीमा मेलमिलापकर्ताको आधारभूत तालिम

भैरबीमा मेलमिलापकर्ताको आधारभूत तालिम

दैलेख : भैरबी गाउँपालिकाले स्थानीय न्यायिक समितिका कामलाई सघाउन मेलमिलापकर्ताहरुका लागि लागि ८ दिने आधारभूत तालिम सुरु गरेको छ । तालिम उद्घाटन कार्यक्रममा भैरबी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले विपन्न र पिछडिएको वर्गको न्यायमा पहुँच बढाउने विश्वास व्यक्त गरे ।
स्थानीय न्यायिक समितिका संयोजक भैरबी गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष देबी भण्डारी, वडा नं. ४ का वडाध्यक्ष बीरेन्द्र शाही, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली र तालिमका मुख्य प्रशिक्षक उद्धवप्रसाद अधिकारीले तालिमको महत्व र यसको उपयोगिता विषयमा प्रकाश पारेका थिए ।
तालिम उद्घाटन कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष छविराम आचार्यले स्वागत मन्तव्य र गाउँपालिकाका सहायक चौथो नमराज थापाले कार्यक्रम सञ्चालन गरेका थिए । भैरबी गाउँपालिकाले सञ्चालन गरेको तालिममा ८ जना महिला सहित ३० जनाको सहभागिता छ ।
भैरबी गाउँपालिकाले स्थानीय न्यायिक समितिले आयोजना र सामुदायिक क्षमता विकास केन्द्र सिन्धुपाल्चोकको प्राविधिक सहयोगमा तालिम सञ्चालन भएको हो । तालिममा प्रशिक्षकद्वय उद्धवप्रसाद अधिकारी र विशाल आचार्यले मेलमिलापकर्ताहरुका लागि सैद्धान्तिक र व्यवहारिक प्रयोग विषयमा सहजीकरण गरिरहेका छन् ।
पानी ढल, साँध सिमाना, सार्वजनिक उपयोग विषय र सामान्यक झैझगडाहरु स्थानीय स्तरमै समाधान गर्ने उद्देश्यले स्थानीय तहका न्यायिक समितिलाई सघाउन मेलमिलापकर्ताको तालिम दिने र उनीहरुलाई सूचीकृत गर्न सकिने व्यवस्था भए पनि दैलेखमा मेलमिलापकर्ताको तालिम सञ्चालन गर्ने भैरबी गाउँपालिका पहिलो स्थानीय पालिका भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा १ तोकेका विवाद समाधान गर्न उपदफा २ मा तोकिएको स्थानीय विवादहरु मेलमिलाप गराउने सक्ने पद्धति र विवाद समाधान विधि अनुसार मेलमिलापकर्ताले गरेको कामलाई कानूनले मान्यता दिएको छ ।

 

 

 

प्रतिक्रिया