जिर्ण भवन पुर्ननिर्माण

जिर्ण भवन पुर्ननिर्माण


दैलेख : भैरबी गाउँपालिका–३ छड्नेस्थित नेरा आधारभुत विद्यालयमा साढे तीन सय बालबालिका अध्ययनरत छन् । विद्यालयमा पाँच वटा भवन छन् । भवनहरु मध्ये दुई वटा जिर्ण थिए । भवन जिर्ण भएकाले बालबालिकाहरु खुल्ला चौरमा बसेर अध्ययन गर्न बाध्य थिए । अब भने विद्यालयमा अध्ययनरत बालबालिकालाई खुल्ला चौरमा पठनपाठन गर्नुपर्ने बाध्यता अन्त्य भएको छ । विद्यालयको दुई कोठे जिर्ण भवनको पुननिर्माण (रेक्ट्रो फिटिङ) गरिएको हो ।

‘भवन जिर्ण भएका कारण बालबालिकालाई पठनपाठनमा समस्या भईरहेको थियो,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्धप्रसाद तिमिल्सेना भन्छन् ‘अहिले दुई कोठे जीर्ण भवनलाई पुर्ननिर्माण गरिएको छ, अब बालबालिकाको पठनपाठनमा सहज हुन्छ ।’ रेक्ट्रो फिटिङबाट भूकम्पीय जोखिम समेत कम भएको तिमिल्सेना बताउँछन् । रेक्ट्रो फिटिङ प्रविधिबाट भवनको पुर्ननिर्माण भएसँगै बालबालिकाहरु सुरक्षित भवनमा बसेर अध्ययन गर्न पाउनेमा उनि विश्वस्त छन् ।

भुकम्पीय उच्च जोखिम रहेको दैलेखमा विद्यालयको भवन नै भुकम्पप्रतिरोधीसहित पुर्ननिर्माण भएपछि विद्यालयका बालबालिका र अभिभावक खुसी भएका छन् । ‘आफ्नो बालबालिका अध्ययनरत विद्यालयको भवन भुकम्पप्रतिरोधी सहित पुर्ननिर्माण भएको छ,’ स्थानीय प्रदिप दमाई भन्छन् ‘अब बालबालिका सुरक्षित भवनमा अध्ययन गर्न पाउनेछन् ।’

यो भवन पूर्ण रूपमा भूकम्प प्रतिरोधी प्रविधि पुर्ननिर्माण गरिएको छ । गाउँपालिकाका इन्जिनियर हीरासिंह थापाका अनुसार १५ लाख रुपैयाँको लागतमा भवन पुर्ननिर्माण गरिएको हो । बालबालिकालाई जोखिमपूर्ण विद्यालय भवनमा अध्ययन गर्नुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाले बर्षेनी एक÷एक वटा विद्यालय भवनलाई रेक्ट्रो फिटिङ गरेको इन्जिनियर थापा बताउँछन् । अघिल्ला दुई बर्षमा गाउँपालिकाले रावतकोटस्थित नेरा आधारभुत विद्यालयको दुई र तीन कोठे भवन रेक्ट्रो फिटिङ प्रविधिबाट पुर्ननिर्माण गरेको थियो ।

शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख तेजबहादुर थापाका अनुसार विगत तीनबर्षयता दैलेखका विभिन्न स्थानीय तहका सामुदायिक विद्यालयका जिर्ण भवनमा रेक्ट्रो फिटिङ गरिएको छ । दुल्लु, आठबीस, चामुण्डाविन्द्रासैनी नगरपालिका तथा भैरबी र नौमूले गाउँपालिकास्थित विद्यालयको ८ वटा जिर्ण भवन पुर्ननिर्माण गरिएको प्रमुख थापा बताउँछन् ।

प्रतिक्रिया