गोठ गएकी महिला मृत फेला

गोठ गएकी महिला मृत फेला

रुकुम पश्चिम : घर नजिकैको गोठमा गएकी महिला मृत फेला परेकी छन् । त्रिवेणी गाउँपालिका–४ स्थित छरीखोलाकी अन्दाजी २५ वर्षीया मनकला खत्री खड्काको शव घर नजिकै फेला परेको हो । सोमबार बेलुकी कुरलखोलामा रहेको गोठमा भैंसीलाई घाँस हाल्न गएकी उनको हत्या भएको स्थानीयले बताएका छन् ।

घरभन्दा करिब २ सय मिटर टाढा रहेको गोठका भैंसीलाई घाँस हालेर लामो समय नफर्केपछि उनको खोजी गरिएको थियो । खोज्ने क्रममा सोमबार राति नै उनको शव भेटिएको वडाध्यक्ष चन्द्रबहादुर खड्काले जानकारी दिए । उनको शव भेटिएको ठाउँ नजिकै मकै र घाँस कुच्चिएको अवस्थामा भेटिएको छ । घर फर्कने बाटोभन्दा केही तल उनको शव छ । घटनास्थलको अवस्था हेर्दा झगडा परेको जस्तो देखिने वडाध्यक्ष खड्काले बताए ।

घटनास्थलमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठ पनि पुगेका थिए । घटनाको अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले बताए । शव रातभर प्रहरीको निगरानीमा रहेको र अनुसन्धानका लागि कोहलपुरबाट तालिमप्राप्त कुकुर मगाइएको डिएसपी श्रेष्ठले बताए । कुकुर पुगेपछि घटनाबारे थप अनुसन्धान अघि बढाइने उनको भनाइ छ । प्रारम्भिक चरणमा घटनास्थल वरपर सोधपुछको काम भइरहेको डिएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया