पिपलकोट स्वास्थ्य चौकी तोडफोड : औषधी, ल्यापटप सहितका सामग्री लुटियो

पिपलकोट स्वास्थ्य चौकी तोडफोड : औषधी, ल्यापटप सहितका सामग्री लुटियो

दैलेख : जिल्लाको पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका–५ पिपलकोटस्थित स्वास्थ्य चौकी तोडफोड भएको छ । दुर्गम गाउँमा रहेको स्वास्थ्य चौकी तोडफोड गरेर ल्यापटपसहित औषधि लगायतका सामग्री चोरी भएको छ । आठबीस नगरपालिका–५ का वडाध्यक्ष कर्णबहादुर आलेका अनुसार स्वास्थ्य चौकीको झ्याल फोडेर भित्र पसी फेरि तीनवटा ढोका फोडी सामग्रीहरु तोडफोड गर्नुका साथै चोरी भएको छ ।

स्वास्थ्य चौकीको केही हप्ताअघि खरिद गरिएको ल्यापटप, सोलारका सामग्री, मास्क, स्यानीटाइजर, न्यानो झोला, साबुन, कोलगेट, मापी डट्पेन चोरी भएको वडाध्यक्ष आलेले बताए । उनका अनुसार मोबाइल चार्जर र छाता समेत चोरी भएको छ । स्वास्थ्य चौकीको ५ वटा दराज र ३ वटा टेबल कामै नलाग्ने गरी तोडफोड भएको वडाध्यक्ष आलेले जानकारी दिए । उनका अनुसार प्रारम्भिक रुपमा स्वास्थ्य चौकीमा झण्डै ३ लाख बराबरको क्षति भएको छ ।

‘सोमवार राती नै स्वास्थ्य चौकी तोडफोड भएको हुनसक्छ,’ वडाध्यक्ष आलेले भने ‘स्वास्थ्य चौकीका लागि नयाँ भवन निर्माणको काम चलिरहेको छ, आज विहान कामदारहरु आएर निर्माण सामग्रीहरु निकाल्न भवनको मुल ढोका खोल्दा भित्र तोडफोड हुनुका साथै सामान चोरी भएको थाहा भएको हो ।’  स्वास्थ्य चौकीमा ३ जना अहेव २ जना अनमी, १ जना ल्याबका कर्मचारी र एक कार्यालय सहयोगी कार्यरत रहेको अहेव जीवनकुमार बस्नेत जानकारी दिए । यता जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले घटनास्थलतर्फ प्रहरी टोली पठाएको बताए ।

प्रतिक्रिया