कोरोना कहरकाबीच पठनपाठन सुरु

कोरोना कहरकाबीच पठनपाठन सुरु

दैलेख : दैलेखमा विद्यालय सञ्चालन गरी पठनपाठन सुरु भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु सञ्चालनमा आउन थालेका हुन् । जिल्लाको नारायण नगरपालिकाले विद्यालय सञ्चालन गरी पठनपाठन सुरु गरिसकेको छ । नगरपालिकाले साउन २२ गतेदेखि नै सामुदायिक तथा नीजि विद्यालय सञ्चालनमा ल्याएको हो ।

विद्यालय बन्द भएको अवस्थामा जिल्लाको दुई वटा सामुदायिक रेडियोहरु रेडियो ध्रुवतारा र रेडियो ज्वालाबाट कक्षा सञ्चालन गरेको नगरपालिकाले विद्यालय सञ्चालन गरेको हो । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिएको नारायण नगरपालिका शिक्षा शाखा संयोजक हिमालयजंग शाहले बताए । लामो समयदेखि बन्द रहेका नगरपालिकाभित्रका ३८ वटा सामुदायिक विद्यालयमा पठनपाठन सुरु गरिएको शाहको भनाई छ ।

‘पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा ल्याएका छौँ,’ शाहले भने ‘विद्यार्थीहरुलाई स्वास्थ्य सामग्रीहरु मास्क सेनीटाइजर व्यवस्थापन गर्नका लागि हरेक विद्यार्थीलाई २ सय रुपैयाँका दरले विद्यालयलाई रकम उपलब्ध गराएका छौ ।’

स्वास्थ्य सावधानी अपनाएर एउटा बेच्चमा दुई जना विद्यार्थी राखेर पठनपाठन सुरु गरेको नारायण नगरपालिका–८ स्थित सरस्वती मावी तर्ताङ्गका सहायक प्रधानाध्यापक लोकेन्द्र जिसीले बताए । ‘हामीले शिक्षण गर्दा भौतिक दूरी कायम गर्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरी कक्षामा पठनपाठन सञ्चालन गरेका छौँ,’ जिसीले भने । लामो समयसम्म विद्यालय बन्द भई घरमै रहेका विद्यार्थीहरु विद्यालय सञ्चालन हुँदा खुसी भएको सहायक प्रधानाध्यापक जिसीले बताए ।

विद्यालय सञ्चालन गर्नुपूर्व विद्यार्थीलाई व्यक्तिगत सुरक्षा सामग्रीहरु स्यानिटाइजर र मास्क उपलब्ध गराएको जिसीले बताए ।
जिल्लामा आइतवारसम्म ३ हजार ४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । ती मध्ये ३ हजार ४ सय ३७ जना निको भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । रेग्मीका अनुसार हालसम्म कोरोना संक्रमणका कारण २९ जनाले ज्यान गुमाईसकेका छन् भने सक्रिय संक्रमितका संख्या ३२ जना छ । हाल दैलेख अस्पतालको आइसोलेसनमा ८ जना उपचाररत छन् ।

प्रतिक्रिया