दैलेख अस्पतालमा २५ शैयाको एचडियू वार्ड सञ्चालन

दैलेख अस्पतालमा २५ शैयाको एचडियू वार्ड सञ्चालन

दैलेख : स्वास्थ्य सेवा कार्यालय, दैलेख अस्पतालमा बुधवारदेखि २५ शैयाको एचिडयू वार्ड सञ्चालनमा आएको छ । अस्पतालमा गम्भीर बिरामी राखिने एचडियू (हाई डिपेन्डेन्सी युनिट) सञ्चालनमा आएको हो । संघीय सरकारले पठाएको ३ करोड १२ लाख ७० हजार रुपैयाँ मध्ये ठेक्का प्रक्रिया मार्फत २ करोड ८० लाखको लागतमा एचडियू सञ्चालनमा आएको   हो ।

सामग्रीहरु खरिद गरेर जडान गरेसँगै २५ बेडको एचडियू सञ्चालनमा ल्याईएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । उनका अनुसार २५ बेड मध्ये ५ बेड आइसोलेसन बार्ड र २० वटा बेड अस्पतालमै जडान गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा कोरोनाका बिरामीलाई उपचार गर्ने प्रयोजनका लागि निर्माण गरिएको आइसोलेसन बार्डमा जडान गरिएको एचडियूले कोरोना संक्रमितको उपचारमा सहज हुने रेग्मीले बताए ।

एचडियू सञ्चालनमा आएसँगै अब सामान्य बेडमा उपचार सम्भव नहुने बिरामीलाई एचडियू (हाई डिपेन्डेन्सी युनिट) मा राखेर उपचार गरिने दैलेख अस्पतालका डा. जगत थापाले बताए । ‘कोरोना संक्रमित बिरामी मात्र नभई स्वासप्रश्वास लगाएतका गम्भीर बिरामीहरुको उपचारमा सहज हुनेछ,’ डा. थापाले भने । जनशक्ति अभावमा एक बर्ष अघि खरिद गरेर अस्पतालमा जडान गरिएको भन्टिलेटर थन्काउनुपरेको डा. थापाको भनाई छ ।

एचडियूको बुधवार कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मर बहादुर थापा नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा मन्त्री थापाले दैलेख अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको जनशक्ति व्यवस्थापनमा ध्यान केन्द्रित गर्ने बताएका छन् । मन्त्री थापाले अबको दुई बर्षभित्र दैलेख जिल्लाको स्वास्थ्य क्षेत्रहरु सबै व्यवस्थित भईसक्ने समेत बताए ।

प्रतिक्रिया