पहिरो पीडितलाई ३ लाख ९० हजार सहयोग

पहिरो पीडितलाई ३ लाख ९० हजार सहयोग

पहिरोको उच्च जोखिममा रहेको नौमूले गाउँपालिका–४ कालिकास्थित उत्तीसेनी गाउँ

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले नौमूले गाउँपालिकाका पहिरो पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । डिसिए नेपालको सहयोगमा सोसेक नेपालमार्फत सञ्चालित साकार परियोजनाले आर्थिक सहयोग उपलब्ध गराएको    हो ।

नौमूले गाउँपालिका–४ कालिकाका पहिरो पीडित २६ घर परिवारलाई आर्थिक सहयोग उपलब्ध गराईएको संस्थाले जनाएको  छ । प्रतिपरिवार १५ हजार रुपैयाँका दरले ३ लाख ९० हजार रुपैयाँ सहयोग प्रदान गरिएको साकार परियोजनाका संयोजक पुस्करप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार २६ घरपरिवारलाई आईएमी मार्फत रकम पठाईएको थियो ।

पहिरो पीडितका लागि आईएमी मार्फत पठाईएको रकमको आईएमी नम्बर बिहीवार उपलब्ध गराईएको छ । नौमूले गाउँपालिकाका उपाध्यक्ष अमृता सिंहको उपस्थितीमा गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच आईएमी नम्बर पहिरो पीडितहरुलाई प्रदान गरिएको छ । पहिरो पीडितहरुलाई आजआर्जन मुलक क्रियाकलाप सञ्चालन गरी जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने उदेश्यले आर्थिक सहयोग उपलब्ध गराईएको परियोजना संयोजक शर्माले बताए ।

कालिकास्थित उत्तीसेनीमा पहिरो जान थालेसँगै बस्ती नै उच्च जोखिममा परेको छ । बस्ती नजिकबाट पहिरो बग्न थालेपछि २६ घरधुरी जोखिममा परेका छन् । पहिरोको त्रासका कारण यहाँका स्थानीयहरु बस्ती छोडेर नजिकैको जंगल र खरमेलामा पाल टाँगेर बस्न बाध्य छन् । सुरक्षित स्थानमा बस्ती सार्नका लागि स्थानीय र प्रदेश सरकारले पहल गर्नुपर्ने स्थानीय अगुवा बताउँछन् ।

प्रतिक्रिया