एकैदिन दुई गर्भवतीको जटिल शल्यक्रिया मार्फत प्रसुती
गर्भवती महिलाहरुको शल्यक्रियाबाट प्रसूति गराईउँदै दैलेख अस्पतालका डाक्टर सहितको टोली ।
दैलेख : दैलेख जिल्ला अस्पतालमा एकै दिन दुई जना गर्भवती महिलाको जटिल शल्यक्रिया मार्फत प्रसुती गराईएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेख अन्तरगर्त जिल्लाकै ठूलो अस्पतालमा आइतवार एकै दिन दुई जना गर्भवती महिलाको जटिल शल्यक्रिया मार्फत प्रसुती गराईएको अस्पतालका डा.जगत थापाले बताए ।
नारायण नगरपालिकाका २६ बर्षीया डिलकुमारी दर्लामी र २१ बर्षीया मञ्जु बस्नेत गरी दुई जना गर्भवतीको शल्यक्रियाबाट बच्चा जन्माइएको डा.थापाले बताए । ‘दुवै जना गर्भवती महिलाहरुको अवस्था गम्भिर थियो, शल्यक्रिया गरेर बच्चालाई जन्म दिनु बाहेक अरू विकल्प थिएन,’ डा. थापाले भने ।
दैलेख अस्पतालमा जटिल प्रकारका गर्भवतीको शल्यक्रियामार्फत उपचार सेवा सिजरिएन सेक्सन (सिएस) सञ्चालन भएयता जिल्लाका गर्भवती महिलाहरुलाई राहत मिलेको छ । झण्डै तीन महिनादेखि बन्द रहेको सिएस सेवा गत जेठ देखि पुःन सुचारु भएको थियो । जनशक्ति अभावमा रोकिएको शल्यक्रियाबाट प्रसुती सेवा सुचारु भएपछि गर्भवतीलाई शल्यक्रिया गरी सुत्केरी गराउन रिफर गर्नुपर्ने बाध्यता हटेको अस्पताल स्रोतले जनाएको छ । गत जेठ महिनादेखि हालसम्म ६० भन्दा बढि गर्भवती महिलाहरुको शल्यक्रियाबाट प्रसूति गराईएको अस्पतालका डा.जगत थापाले बताए ।
सेवा बन्द रहँदा शल्यक्रियामार्फत प्रसूति गराउन परे सुर्खेतस्थित प्रदेश अस्पताल तथा नेपालगंज पठाउनु पर्ने बाध्यता थियो । दैलेख अस्पतालमै सेवा सञ्चालन भएयता जिल्लाका सर्वसाधारणहरु आकस्मिक प्रसूति शल्यक्रियाका लागि महँगो शुल्क तिरेर सुर्खेत तथा नेपालगंजसम्म पुग्नु बाध्यता हटेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया