दैलेख अस्पतालमा अक्सिजन प्लान्ट जडान

दैलेख अस्पतालमा अक्सिजन प्लान्ट जडान

दैलेख सदरमुकामस्थित दैलेख जिल्ला अस्पतालमा जडान भएको अक्सिजन प्लान्ट ।

दैलेख : जिल्लाकै ठूलो अस्पताल दैलेख जिल्ला अस्पतालमा बुधवार देखि अक्सिजन पलान्ट सञ्चालनमा आएको छ । अक्सिजन पलान्ट जडान भई सञ्चालनमा आएसँगै उत्पादन समेत थालिएको छ ।

स्वास्थ्य सेवा कार्यालय दैलेख÷दैलेख जिल्ला अस्पतालमा जडान भएको अक्सिजन पलान्टको शुद्धता ९० प्रतिशतसम्म रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । उनका अनुसार यसमा जडान भएको बुस्टरले प्रतिदिन ४० लिटर क्षमताका ४० वटा सिलिन्डर भर्न सक्छ ।

रेग्मीका अनुसार ७५ लाख रुपैयाँको लागतमा अक्सिजन पलान्ट जडान भएको हो । गत असारमै टेन्डर भएर अक्सिजन प्लान्ट आएको थियो । अक्सिजन प्लान्ट आएपनि राख्ने भवन नहुँदा थन्किएको थियो । अहिले भवन तयार भई जडानको काम सकिएसँगै उत्पादन समेत सुरु भएको बताईएको छ ।

कोरोनाको दोस्रो लहरको बेला अक्सिजनका लागि नेपालगंजसम्म धाउनुपर्ने अवस्था आएपछि अक्सिजन पलान्ट राख्नका लागि पहल थालिएको थियो । अक्सिजन पलान्ट जडान भई उत्पादन सुरुभएसँगै दैलेख अस्पताल, दुल्लु अस्पताल लगाएत स्थानीय तह मातहतका अस्पतालहरुमा अक्सिजन अभावको समस्या समाधान हुने स्वास्थ्य सेवा व्यवस्थापक रेग्मीले बताए ।

प्रतिक्रिया