कर्णालीमा कक्षा १ देखि ३ को शैक्षिक उपलब्धी कमजोर

कर्णालीमा कक्षा १ देखि ३ को शैक्षिक उपलब्धी कमजोर

सुर्खेत : कर्णालीका सामुदायिक विद्यालयका बालबालिकाको शैक्षिक गुणस्तर ५० प्रतिशत मात्र रहेको पाइएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको अध्ययनअनुसार गणित, अंग्रेजी, विज्ञान र सामाजिक अध्ययन विषयमा विद्यार्थीको शैक्षिक उपलब्धि मुस्किलले ५० प्रतिशत पुगेको हो ।

कर्णालीमा सबैभन्दा बढी विद्यार्थी अंग्रेजी र गणितमा कमजोर रहेको पाइएको छ । केन्द्रले निरन्तर विद्यार्थी मुल्यांकन नहुँदा विद्यार्थीको सुनाइ, बोलाइ, पढाइ र लेखाइमा विद्यार्थीको गुणस्तर कमजोर भएको जनाएको छ । केन्द्रका अनुसार कर्णालीमा कक्षा १ देखि ३ मा शैक्षिक उपलब्धी कमजोर छ ।

शैक्षिक स्तर खस्किँदै गएपछि सामाजिक विकास मन्त्रालयले कर्णालीका १ सय ५० शिक्षकलाई ३ दिने मुख्य प्रशिक्षक प्रशिक्षण तालिम दिएको छ । तालिम लिएका शिक्षकले १० वटै जिल्लामा तालिम सञ्चालन गर्ने मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले बताए । उनका अनुसार गणित, अंग्रेजी, विज्ञान र सामाजिक अध्ययन विषयका शिक्षकलाई तालिम दिइएको हो । ‘भौतिक पूर्वाधार र मानव संसाधन विकासको सुधार गरेपछि मात्र कर्णालीको शैक्षिक गुणस्तर बढ्ने देखियो,’

उनले भने, ‘कक्षा कोठामा शिक्षकलाई रुपान्तरण गर्न सकियो भने शिक्षण सिकाइ उपलब्धि र नतिजामूलक बन्ने देखिन्छ ।’ मन्त्रालयले बूढानीलकण्ठ स्कुलको सहयोगमा शिक्षकलाई तालिम दिएको हो । बूढानीलकण्ठ स्कुलका प्रिन्सिपल होमनाथ आचार्यले आफ्नो विद्यालयको अध्यास कर्णालीका विद्यालयहरूमा प्रयोग गर्न खोजिएको बताए ।

‘हाम्रो राम्रो अभ्यासलाई दुरदराजसम्म पुर्याउने योजना छ,’ उनले भने, ‘त्यसका लागि कर्णालीका शिक्षकलाई पनि अभियानमा सहभागी बनाएका हौं ।’ उनका अनुसार प्रशिक्षणमा बूढानीलकण्ठ स्कुलका १२ जना शिक्षकले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया