कालिकोटकी किशोरी निरु विश्वकर्माको हत्यारा सार्वजनिक गर्न माग

कालिकोटकी किशोरी निरु विश्वकर्माको हत्यारा सार्वजनिक गर्न माग

कालिकोट : दुई महिनाअघि बलात्कारपछि हत्या आशंका गरिएकी खाडाचक्र ६ दाहा गोरालवाडाकी १६ वर्षीया किशोरी निरु विश्वकर्माको हत्यारा सार्वजनिक गर्न माग गर्दै सदरमुकाम मान्ममा प्रदर्शन भएको छ । दलित अधिकारकर्मी सरु सुनारको नेतृत्वमा स्थलगत अनुगमनका लागि कालीकोट आएका दलित अधिकारकर्मीसहित स्थानीयले बिहीबार मान्म बजारमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले ‘निरु हत्यारालाई सार्वजनिक गरी कारबाही गर’, ‘बलात्कारीलाई फाँसी दे’, ‘दलित माथिको विभेद अन्त्य गर’, ‘निरुका परिवारलाई न्याय दे’ जस्ता नारा लगाउँदै ब्यानर, प्ले कार्डसहित बजार परिक्रमा गरी प्रतिमा चोकमा विरोध सभा गरे । बलात्कारपछि हत्या गरेर मकै बारीमा लाश भेटिएको दुई महिना बितिसक्दा पनि दोषी पत्ता नलाग्नुमा प्रहरीको अनुसन्धान प्रक्रिया फितलो भएको मानव अधिकारकर्मी कालीबहादुर मल्लले बताए ।

गत भदौ ४ गते बेलुकी ७ बजेसम्म घरमै भएकी किशोरीको ७ गते दिउँसो घरबाट करिब ३ सय मिटर तल मकैबारीमा शव भेटिएको थियो । घरबाट कसैले बोलाएर गएपछि सामूहिक बलात्कार गरेर हत्या गरिएको हुन सक्ने स्थानीय बसन्त विश्वकर्माले बताए । लासको भेटिएको ठाउँमा लछारपछार भएको छ । उनले जबरजस्ती गर्न खोज्दा नमानेपछि हत्या गरिएको दाबी गरे ।

दलित अधिकारकर्मी दिनेश चदाराले कालीकोटमा दलित समुदायका मनवीरे सुनार, मना सार्कीलगायतको जातीय विभेद गर्दै कुटपिटबाट हत्या गरिएको सुनाउँदै दलित समुदाय छुवाछूत र विभेदको सिकार भइरहेको बताए । निरु दलित समुदायकी बालिका भएकोले राज्यले अपराधीलाई उन्मुक्ति दिएको उनको आरोप छ ।

दलित अधिकारकर्मी बाले विश्वकर्माले घटनालाई प्रहरी प्रशासनले अनुसन्धान पनि राम्रोसँग नगरेको गुनासो पोख्दै प्रहरीको उच्चस्तरीय छानबिन टोलीको माग गरे ।

कालीकोटका प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहले अनुसन्धान जारी रहेको बताए । उनले गाउँभित्रकै मान्छेको संलग्नतामा हत्या भएको अनुमान गरे । ‘घटनास्थल हेर्दा हत्याजस्तै देखिन्छ,’ डिएसपी शाहले भने घटनास्थलको प्रकृति, लाशको अवस्था हेर्दा हत्याजस्तो देखिन्छ ।’ उनले मकैबारीमै लछारपछार गरेर घाँटी थिचेको हुनसक्ने सुनाउँदै अपराधी टाढाको भन्दा पनि चिनेजानेकी हुनसक्ने आशंका गरे । हालसम्म प्रहरीले घटनास्थल वरपरका ५० भन्दा बढीलाई प्रहरीले जिल्ला सदरमुकाम मान्म ल्याएर सोधपुछ गरेको र गाउँमा पनि प्रहरी टोलीले अनुसन्धान गरिरहेको जानकारी दिए ।

बेलुकी ६ बजेपछि छोरी हराएर ७ गते मकैबारीमा विभत्स रुपमा लाश भेटिएको किशोरीका बुवा रत्ने गोराल (नेपाली) ले बताए । उनले छोरीको बलात्कारपछि हत्या गरेको दाबी गरे । स्थानीय सरस्वती मावि हुपीडाँडामा कक्षा ८ मा अध्ययनरत निरु गाउँमा गठिन किशोरी समूहकी सदस्य थिइन् । उनले किशोरी कक्षामा अधिकारका बारे जानकारी पाएकीले उनीमाथि जबरजस्तीको प्रयास भएपछि प्रतिवाद गर्दा हत्या भएको विमला गोरालले बताइन् ।

प्रतिक्रिया