बढ्दो बहुविवाह, उजुरी कर्ताहरु असहाय बन्दै

बढ्दो बहुविवाह, उजुरी कर्ताहरु असहाय बन्दै

दैलेख – गुराँस गाउँपालिका–३ खुमका २७ वर्षीय कमल बिकले बर्दियाको ठाकुरबाबा नपा–१ भुरीगाउँकी मिना नेपालीलाई, दुल्लू नपा–१ नाउलेकटुवालका ३८ वर्षीय रमेश खड्काले त्यहीँकी ३० वर्षीया डिलु खड्कालाई र नारायण नपा–८ ढकानेका २६ वर्षीय अशोक शाहीले नौमूले गाउँपालिका–८ चौराठाकी २२ वर्षीया अनु रिमाललाई बहुविवाहको आरोपमा तीन जोडी  अहिले दैलेख प्रहरीको हिरासतमा छन् ।
फौजदारी कसूरको आरोपमा प्रहरीले मुद्दा चलाएर थुनेका १० जनाको नाम भित्र यी तीन जोडी अर्थात् ६ जना बहुविवाह कसूरमा हिरासतमा राखिएका हुन् । जिल्ला प्रहरी कार्यालय दैलेखले हिरासतमा राखिएका व्यक्तिहरुको विवरण सार्वजनिक जानकारीका लागि अध्यावधिक गर्ने दैनिक कार्यमा यी नाम परेका हुन् ।


कमल बिकसंग ९ वर्ष अघि विवाह गरी २ छोरा–छोरी भएकी जेठी श्रीमति लक्ष्मी बिक, ८ वर्ष अघि विवाहपछि एक छोरी साथमा भएकी रमेश खड्काकी जेठी श्रीमति निर्मला थापा र ५ वर्षअघि विवाह सम्वन्धपछि ३ वर्षकी छोरी साथमा भएकी अशोककी जेठी श्रीमति शर्मिला न्यौपानेले दिएको उजुरीका आधारमा ती तीन जोडी एकैसाथ प्रहरी हिरासतमा परेका हुन् ।
प्रहरी हिरासतमा राखिएका १० जना मध्ये ६ जना बहुविवाहको आरोपितहरु हुनुले दैलेखमा बहुविवाह अपराध बढ्दै गरेको छ भन्ने पुष्ट्याइँ पनि हो । तथ्यांकहरु केलाउँदा इन्सेकले सन् २०२१ को जनवरीदेखि सेप्टेम्वरसम्म संकलन गरेको मानव अधिकार ज्यादतीका ८४ घटनामा १५ वटा बहुविवाहका घटना छन् ।

तीन छोराहरु आशिष (८), रोशन (६) र प्रतीक (२)का साथ कृष्णा थापा

जिल्ला प्रहरी कार्यालय दैलेखको महिला तथा बालबालिका सेवा केन्द्रले अध्यावधिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष ०७७÷७८ अवधिमा १९, आर्थिक वर्ष ०७६÷७७ अवधिमा १४ र आर्थिक वर्ष ०७५÷७६ अवधिमा २० जोडीले बहुविवाह गरेका थिए । २०७६ चैत ११ गतेदेखि ४ महिना लकडाउन भएका कारण त्यो समयमा दोश्रो विवाह हुन् नपाएको मानव अधिकार रक्षक सञ्जालका संयोजक विशाल सुनारको भनाई छ ।

९ वर्षीया छोरी झरना र २ वर्षको छोरा काखमा च्यापेर न्यायिक लडाइँमा लक्ष्मी बिक


मुलुकी अपराध सहिंता २०७४ को दफा १७५ ले बहुविवाह कानूनी मान्यता नदिने भन्दै बहुविवाह गरेमा पहिलेको मुलुकी ऐन २०२० ले तोकेको एक वर्षदेखि तीन वर्षसम्मको कैदलाई बढाएर पाँच वर्षसम्म पु¥याइए छ । कानूनले कडाई गर्दै गरेपछि पनि बहुविवाह नरोकिनु सामाजिक कुचलन प्रमुख कारण रहेको अधिकारकर्मीहरुको टिप्पणी छ ।

छोरा सन्देश (२) र काखे छोरी सारिका (५ महिना)लाई लिएर न्याय माग्दै निरा बिक ।


बहुविवाहलाई समाजले सामान्य घटनाको रुपमा लिने गरेको अझै कैयौं घटनाहरु कानूनी प्रक्रियामा नआएका सामाजिक सेवा केन्द्र (सोसेक)को महिला तथा बालबालिका सेवा केन्द्रका कार्यक्रम संयोजक रमा श्रेष्ठले बताउनुभयो । कानूनी प्रक्रियामा आएकाहरुलाई पनि पहुँचवाला पीडकहरुले पीडितलाई बयान बदल्न लगाउने गरेको उहाँले टिप्पणी गर्नुभयो ।
सानै उमेरमा बालविवाह गर्नेहरुले बहुविवाह गर्ने गरेको आफूले पाएको नागरिक समाज दैलेखका संयोजक अधिवक्ता खड्गबहादुर सिजाश्रीमानले आफ्नो बिश्लेषण सुनाउनुभयो । सानै उमेरमा विवाह गर्दा पढाई रोकिने गरेको कारण उनीहरुको वौद्धिक क्षमता कमी, आर्थिक अभाव लगायतका समस्याले बेमेल सिर्जना भएर वर्षेनी सय जति जोडीले सम्वन्ध विच्छेद गर्ने गरेको र त्यति नै संख्यामा बहुविवाह हुने गरेको अधिवक्ता सिजाश्रीमानको व्याख्या छ ।
बहुविवाहको मुख्य जड बालविवाह भएकोले बालविवाह रोकथाम गर्न सामाजिक सचेतना बढाउन जरुरी रहेको जिलला प्रहरी कार्यालय दैलेखका प्रहरी इञ्चार्ज डीएसपी अनुपम श्रेष्ठले बताउनुभयो । जनचेतना अभिबृद्धिमा प्रहरीको एक्लो प्रयास असम्भव भएकोले स्थानीय सरकार र नागरिक समाजको अगुवाई आवश्यक रहेको उहाँले औल्याउनुभयो ।
बहुविवाह गर्ने जोडीलाई अधिकतम् सजाय गर्ने र उनीहरुलाई कैदपछि पनि संगै बस्न नदिन कानून कार्यान्वयन गराएपछि मात्र पीडित महिलाहरुलाई न्याय हुने बहुविवाह पीडित गुराँस गाउँपालिका–७ ओखडेनीकी ३६ वर्षीया भद्रकला बुढाको टिप्पणी छ ।
भद्रकलाका ३७ वर्षीय श्रीमान मानबहादुर मगरले त्यहीकी ३३ वर्षीया तुली मगरलाई २०७५ फागुन २० गते बहुविवाह गरेको कसूरमा एक वर्ष कैद र १० हजार जरिवाना भएकोमा कैद भुक्तान गरेपछि नयाँ दम्श्रीमान घरमा बस्यो तर भद्रकला तीन बच्चा सहित सुर्खेतको पिपरामा माइतीको संरक्षणमा बस्तै आउनुभएको छ ।
भगवतीमाई गाउँपालिका–७ वडाभैरबकी निरा बिक उमेरले २१ वर्ष हुनुभयो, अढाई वर्षको छोरा सन्देश र ५ महिनाकी छोरी सारिकालाई काखमा लिएर श्रीमान २१ वर्षीय खड्कबहादुर बिक र सौता १९ वर्षीया डिलसरा बिक विरुद्ध कानूनी प्रक्रिया सुरु गरेकै कारण घर निकाला भएर भगवतीमाई गाउँपालिका–६ कट्टीस्थित माइतीमा बस्न थाल्नुभएको छ ।
गएको साउन २५ गते श्रीमानले बहुविवाह गरेपछि भदौ १६ गते उजुरी गरेकै दिन श्रीमान र सौता प्रहरीले पक्राउ गरेकै विषयमा सासुले घर निकाला गरेकी पीडित निराले इन्सेकसंग दुखेसो सुनाउनुभयो । प्रहरीले अनुसन्धान सकेर असोज ७ गते अदालतमा बहुविवाह अभियोगमा थुनछेक बहसपछि आरोपितद्वय खड्क र डिलसरा पुर्पक्षका लागि आरोपित दुबै जनालाई दैलेख कारागारमा थुनामा पठाएको छ ।
भगवतीमाई गाउँपालिका–७ बडाभैरबकै २६ वर्षीया कृष्णा थापाको विवाह भएको १० वर्ष समयमा तीन छोरा जन्माएर हुर्काउदै हुनुहुन्छ । उहाँका श्रीमान २८ वर्षीय खर्वजीत खड्काले त्यही गाउँकी २५ वर्षीया भगवती बोहरालाई दोश्रो श्रीमतिको रुपमा भित्र्याएको घटनामा कृषणाले प्रहरीमा उजुरी गर्नुभयो ।
गत माघ २२ गते बहुविवाह गरेको भनी माघ २५ गते उजुरी गर्नुभयो, आरोपित दुबै जना प्रहरीले पक्राउ गरेपछि घर जाहनबाट असहयोग भएपछि कृष्णा अहिले तीन छोराहरु आशिष (८), रोशन (६) र प्रतीक (२)लाई पालन पोषण बेस्तडाबजारमा माइतीको सहयोग लिनुपरेको सुनाउनुभयो । अदालतले यो मुद्दा दुबै जनालाई डेढ वर्ष कैद र १५ हजार जरिवाना गरेको छ, कैद सकेर फर्किएपछि घरबार हुनेमा कृष्णालाई आश छैन ।
अहिले प्रहरी हिरासतमा रहेका कमल बिक र मीनाले असोज १४ गते बहुविवाह गरेको भन्दै असोज १८ गते उजुरी गरेकै दिन प्रहरीले उनीहरुलाई पक्राउ गरेपछि सासु–सासुराले ‘हाम्रो छोरा थुनाएर हाम्रै घरमा बस्छेस्’ भनी तनाव दिन थालेपछि कमलकी जेठी श्रीमति लक्ष्मी बिक आफ्ना दुई सन्तान सहित बर्दियाको भुरीगाउँस्थित माइतीमा संरक्षण मागेर बस्नुभएको छ ।
बहुविवाहको पींडा भोगेका सबैले उजुरी गर्न सकेका छैनन् । भद्रकला बुढा, निरा बिक, कृष्णा थापा र लक्ष्मी बिकले मात्र होइन उजुरी गरेकाहरु सबैजसोले घर निकाला र घर न घाटका हुने यस्तै धेरै कष्टकर जीवन भोग्नपर्ने स्थितिबाट मुक्ति पाउने राज्यको तर्फबाट पहल नगरे पीडित महिलाहरुले अन्याय सहेरै बस्ने स्थिति आउने सक्ने खतरा पैदा हुनसक्ने देखिएको छ ।
बालविवाह निर्मूल पार्ने, हरेक छोरीलाई माध्यमिक तहसम्मको शिक्षा पूरा गराउने, युवाहरुलाई स्वरोजगार मूल सिप र ज्ञान दिने, आत्मनिर्भर भएर मात्र विवाह गर्ने, पारिवारिक अनुशासन कायम गर्ने लगायतका क्षेत्रमा ध्यान दिन सके बहुविवाह रोकथाममा सहयोग पुग्न सक्ने जेष्ठ नागरिक समाज दैलेखका पूर्व अध्यक्ष इन्दिरा थापाको सुझाव छ । 

प्रतिक्रिया