गुराँसमा बालअधिकार समिति गठन, संयोजकमा ललिता विक

गुराँसमा बालअधिकार समिति गठन, संयोजकमा ललिता विक

दैलेख : जिल्लाको गुराँस गाउँपालिकाको स्थानीय बाल अधिकार समितिको संयोजकमा ललिता वि.क. चयन भएकी छन् । बिहीवार सम्पन्न गुराँस गाउँपालिकामा बालबालिकासँग सरोकार राख्ने व्यक्ति र संस्थाका प्रतिनिधिहरुको बैठकले वि.क.लाई संयोजक चयन गरेको हो । वि.क. गुराँस गाउँ कार्यपालिकाको सदस्य हुन ।

त्यस्तै बैठकले समितिको सदस्यहरुमा प्रेमबहादुर बुढा, इश्वरी खड्का, जानकी बि.क., पदमकुमारी थापा, जगत बि.सि. लगाएत बालबालिकाको क्षेत्रमा लामो सयम देखि कार्यरत व्यक्तिहरुलाई चयन गरेको छ । उक्त समितिमा बाल क्लबबाट स्मिृति वली र पारश शाही सहभागी भएका छन् ।

लकडाउनका कारण लामो समय देखि समिति गठन गर्न नसकिए पनि यस स्थानीय बालअधिकार समितिले बालबालिकाहरुको हक हितको संरक्षण तथा शारीरिक र मानसिक विकास सम्बन्धी दिर्घकालिन स्थानीय रणनीति र योजना तर्जुमा गरी स्थानीय सरकारलाई सहयोग गर्ने गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए ।

‘गुराँस गाउँपालिकाले बालबालिकाको क्षेत्र धेरै राम्रा उदाहरणीय कामहरु गरेको छ, जोखिममा रहेका बालबालिकालाई तत्काल राहत तथा पुनस्र्थापनाका लागि प्रत्येक वडा र पालिकामा बालकोषको स्थापना, प्रत्येक वर्ष ४० जना बालबालिकालाई कोष स्थापना गरी दिर्घकालिन सहयोग, जीवन सुरक्षा कोष लगाएतका कामहरु सञ्चालन गरिएको छ, एक दर्जन भन्दा बढी बालबालिकासँग सम्बन्धित नीति तथा कार्यविधिहरु तयार गरिएको छ, उनले भने ‘जसबाट जोखिममा रहेका बालबालिकाहरु प्रत्यक्ष लाभान्वित भएका छन्, यस्ता कामहरुको दस्तावेजीकरण गर्दै बालबालिकाको अधिकारका लागि थप आर्थिक स्रोत परिचालन गर्न आवश्यक भएकाले विकास साझेदार संस्थाहरुलाई सहयोग गर्न अनुरोध छ ।’

पालिकाले स्थानीय बालअधिकार समितिको सचिवालय पनि स्थापना गरेको छ । सचिवालय प्रमुखको रुपमा काम गर्ने गरी श्यामसुन्दर खड्कालाई स्थानीय बालकल्याण अधिकारीमा नियुक्ति गरिएको उनको भनाई थियो ।

नेपाल सरकारद्धारा अनुमोदित बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय बालअधिकार महासन्धि, बालकको हकहित एवं अधिकार संरक्षणसग सम्बन्धित अन्य अन्तर्राष्ट्रि एवं क्षेत्रीय महासन्धि वा घोषणापत्र तथा बालकको हक हित सम्बन्धी प्रचलित कानूनका प्रावधानहरुको कार्यान्वयनमा स्थानीय सरकारले पहल गर्नुपर्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका बाल संरक्षण संयोजक निर्मल अधिकारीले बताए ।

प्रतिक्रिया