जनगणनामा समेटिए लोपोन्मुख राउटे

जनगणनामा समेटिए लोपोन्मुख राउटे


राउटे नागरिकको जनगणनका लागि बस्तीमा पुगेकी गणकसँग कुरा गर्दै राउटे मुखिया सुर्यनारायण शाही ।

दैलेख : २०७५ असार ३० गते दैलेखको गुराँस गाउँपालिकाबाट पहिलो पटक परिचयपत्र प्राप्त गरेका राउटे नागरिकहरुको जनगणना गरिएको छ । बाह्रौँ राष्ट्रिय जनगणना–२०७८ अन्र्तगत राउटे नागरिकहरुको गणना गरिएको हो । कर्णालीको दैलेख, सुर्खेत, सल्यान लगाएतका जिल्लामा फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख जाती राउटे समुदाय बसोबास गरिरहेको बस्तीमै पुगेर पहिलो पटक जनगणना गरिएको सल्यानका जिल्ला जनगणना अधिकारी धर्मराज ढकालले बताए ।

सल्यानको बनगाड कुपिन्डे नगरपालिका–२ स्थित काँडागाउँ क्षेत्रमा उनिहरु बसोबास गरिरहेको स्थानमै पुगेर गणना गरिएको ढकालले बताए । प्रारम्भिक गणनामा राउटेको जनसंख्या १ सय ४६ जना पुगेको उनले बताए । गणक टोलीले दुई दिन लगाएर राउटेको गणना गरेको थियो । उनिहरु पाँच दिनअघि सुर्खेतको सिम्ता गाउँपालिका–४ भेरी किनारमा बसाई सरिसकेका छन् ।

‘राउटे नागरिकहरुको गणनाका क्रममा हामीले सोचेजत्तिकै असहज भएन्, उनिहरुले आफ्नो विवरण खुलाउँदैनन् की भन्ने डर थियो तर, दैलेखको सोसेक नेपालले सञ्चालन गरेको राउटे परियोजनाबाट सहजिकरण भएपछि जनगणना गर्न सहज भयो,’ ढकालले भने । राउटे समुदायमा कार्यरत परियोजनाका कर्मचारीहरुले सहजिकरण गरेपछि उनीहरू जनगणना गर्न सहज भएको ढकालले बताए । सोसेक नेपालले राउटे बालबालिकालाई पढाउन परियोजनामार्फत लालबहादुर खत्री र दुर्गा खत्रीलाई ‘जोडी शिक्षक’ नियुक्ती गरेर खटाईरहेको छ । परियोजनाले एक जना स्वास्थ्यकर्मी (अहेव) समेत राउटे बस्तीमा खटाएको छ ।

जोडि शिक्षक लालबहादुर खत्रीका अनुसार यसपालिको जनगणनामा राउटे नागरिकहरुले नाम, उमेर सबै खुलाएर विवरण दिएको बताए । ‘गणकहरू बस्तीमा आउनुभएको थियो, हामीले राउटेको सबै घरपरिवारको विवरणहरु उपलब्ध गराउन सहजिकरण ग¥यौ,’ खत्रीले भने ।
राउटे जाती मानव सभ्यताको ईतिहास बोकेको समुदाय हो । त्यतिमात्र होइन दक्षिण एसियाको एकमात्र अन्तिम भ्रमणशिल समुदाय हो । लोपोन्मुख मध्येको पनि अति लोपोन्मुख जाती राउटे कर्णालीमा घुमन्ते जीवनयापन गरिरहेका छन् । आफ्नै मान्यता तथा मौलिकताभित्र रहि जीवनयापन गरिरहेका राउटे आधुनिक मानव समाजबाट टाढै छन् ।

राउटेलाई पहिलो पटक परिचयपत्र वितरण गरिँदै । उनिहरुलाई २०७५ असार ३० गते दैलेखको गुराँस गाउँपालिकाबाट परिचयपत्र उपलब्ध गराईएको थियो ।

उनिहरु जंगल, बन्यजन्तु र प्रकृतिसँग निकट छन् । समुदायभित्र विभेद र वर्ग विभाजन छैन् । यो नै राउटेको पहिचान हो । राउटेहरु पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्थे । तर, अहिले राउटेका लागि अहिले पैसा अनिवार्य जस्तै भईसकेको छ । स्थायी बसोबास लेखपढ र खेतीपाती गर्नुलाई महाशत्रु ठान्छन् । यद्धपी राउटे समुदायका बालबालिका र युवाहरु लेख्न र पढ्न थालेका छन् ।

नेपाल सरकारले राउटे नागरिकलाई २०६३ बाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आईरहेको छ । २०७५ असार ३० गते दैलेखको गुराँस गाउँपालिकाबाट परिचय पत्र प्राप्त गरेका राउटे नागरिकलाई कर्णाली प्रदेश सरकारले मासिक २ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिन सुरु गरिसकेको छ ।
सिकार गर्नु, काठका सामान निर्माण गरी खाद्यान्नसँग साट्नु नै राउटेको जीविकोपार्जनको मुख्य स्रोत हो । स्थायी रुपमा एकै ठाउँमा नबस्ने र बस्ती सरिरहने राउटेको अर्को विशेषता नै हो । धार्मीक, सांस्कृतिक र मौषम अनुसार राउटे एक ठाउँबाट अर्कोठाउँमा बसाई सरिरहन्छन् ।

प्रतिक्रिया