कालीकोटका २ वडा बालविवाह निषेधित घोषणा

कालीकोटका २ वडा बालविवाह निषेधित घोषणा

कालीकोट : शुभकालिका–७ र ८ लाई बालविवाह निषेधित वडा घोषणा गरिएको छ । बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सामाजिक सुरक्षामा प्रतिकूल असर पारेको ठहर गर्दै संघीय संरचनापछि जिल्लाकै पहिलो बालविवाह निषेधित वडा घोषणा गरिएको हो ।

गाउँपालिकाको नेतृत्वमा २ वडालाई बालविवाह निषेधित घोषणा गरिएको वडा नं–८ का वडाध्यक्ष दीपराज महताराले बताए । ‘अब बालविवाह गर्नेलाई सामाजिक बहिष्कार गरिनेछ,’ उनले भने, ‘बालबालिकाको वृत्ति विकास लगायतका सबै प्रगतिको बाधक बालविवाह सधैंका लागि अन्त्य हुनुपर्छ ।’ उनले ३ वर्षदेखि बालविवाहविरुद्धको अभियान सञ्चालन गरी बालविवाहलाई शून्यमा झार्न सफल भएको बताए ।

घोषणाअघि वडाका सबै बस्ती र टोलवासीले प्लेकार्ड र ब्यानर बोकेर पञ्चेबाजासहित बालबालिका, किशोरकिशोरी लगायतले मुग्राहा बजारको परिक्रमा गरेका थिए । बालविवाहले बालबालिकाको पठनपाठनमा अवरोध पुर्याएको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईंले बताए ।

गरिबी, गुणस्तरीय शिक्षाको कमी, छोरीलाई बोझको रूपमा लिने कुसंस्कार, प्रभावकारी कानुन कार्यान्वयनको अभाव, सामाजिक उत्तरदायित्वको कमीले बालविवाह घट्न नसकेको गाउँपालिका अध्यक्ष चौलागाईंले बताए । उनका अनुसार बालबालिकाप्रति उदासिन राज्य संयन्त्र, बालविवाहलाई सामाजिक अपराधको रूपमा नलिनु, अपराधलाई राजनैतिक संरक्षण हुनुले पनि बालविवाहलाई प्रोत्साहन गरिरहेको छ । ‘कलिलैमा आमा बन्दा मातृ र शिशु मृत्यु बढिरहेको छ, कुपोषण, पाठेघर खस्ने, पढाइमा अवरोध हुने असर पनि बढिरहेका छन्,’ उनले भने, ‘पारिवारिक बेमेल, सम्बन्धविच्छेद, मनोसामाजिक समस्याजस्ता असर पनि बालबालिकाले भोग्दै आएका छन् ।’ कान्तिपुरबाट

प्रतिक्रिया