बैंकको बाथरुममा बेहोस भएकी नर्सको अस्पतालमा मृत्यु

बैंकको बाथरुममा बेहोस भएकी नर्सको अस्पतालमा मृत्यु

जुम्ला: सिटिजन्स बैंक जुम्लाको बाथरुपमा नुहाउँदै गर्दा बेहोस भएकी एकजना नर्सको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा मृत्यु भएको छ। कोहलपुर  नगरपालिका-११ की २६ वर्षीया अनुपमा क्षेष्ठको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो। मृतक श्रेष्ठ बिहीबार दिउँसो सिटिजन बैंकको बाथरुममा नुहाउन गएकी थिइन्।

बाथरुममा नुहाउन गएकी अनुपमा बेहोस भएको भन्दै सिटिजन्स बैंकका कर्मचारीले उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लगिएको थियो। उनलाई आइसियुमा राखेर उपचार गरिएको भएपनि बचाउन नसकिएको चिकित्सकहरु बताउँछन्। २४ घण्टासम्म आइसियुमा राख्दा पनि होसमा आउन नसकेपछि चिकित्सकको टोलीले शुक्रबार साँझ मृत घोषणा गरेको थियो।

मृतक अनुपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको स्टाफ नर्स हुन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक यौवन चौधरीले उपचारका क्रममा अनुपमाको मृत्यु भएको बताए।

यता सिटिजन्स बैंकका म्यानेजर महेश शाहीले अनुपमा श्रेष्ठ साथीको बहिनी भएको र लामो समयदेखि चिनजान भएकोले बाथरुपमा नुहाउन आएको प्रतिक्रिया दिएका छन्। बेहोस भएर ढलेपछि बाथरुमको ढोका फोडेर अस्पताल लगिएको उनले बताए। ‘हामी अफिसमै भएको समयमा घटना भएको थियो। बैंकमा गार्ड, सेवाग्राही र कर्मचारी पनि थियौँ,’ उनले भने।

घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। अनुपमाको आफन्तजन जुम्ला पुगेर छोरीको घटना रहस्यमय भएकोले प्रहरीमा जाहेरी दिने तयारीमा रहेको प्रहरीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धान अघि बढाउने बताए। ‘मृतकका आफन्त आइपुगेका छन्,’ उनले भने,‘उनीहरुको जाहेरी अनुसार प्रहरीले अनुसन्धान अघि बढाउँछ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. मंगल रावलले कर्णाली अस्पतालले एक जना होनाहार स्वास्थ्यकर्मी गुमाएको भन्दै दुःख व्यक्त गरेका छन्।  ‘चार दिन अघि मात्रै डाक्टर एउटो फो लिउँ भनेर हँसिलो मुहारमा खिचेका तस्बिरहरु नै अन्तिम भए,’ उनले भने, ‘प्रतिष्ठानले एक होनाहार स्वास्थ्यकर्मी गुमाएको छ। मानिसको जीवन अनिश्चित छ। हार्दिक श्रद्धाञ्जली शोक सन्तप्त परिवारमा हार्दिक समबेदना।’

 

प्रतिक्रिया