ओसीएमसी : दुई वर्षमा १६७ जना लैङ्गिक हिंसा पीडितले लिए सेवा

ओसीएमसी : दुई वर्षमा १६७ जना लैङ्गिक हिंसा पीडितले लिए सेवा

दैलेखमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) कार्यक्रम लागू भए यता २ वर्षमा १ सय ६७ जना लैंगिक हिंसा पीडितले सेवा लिएका छन् ।

दैलेख : दैलेखमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) लागुभएयता दुईबर्षे अवधीमा १ सय ६७ जना लैङ्गिक हिंसा पीडितले सेवा लिएका छन् । यूनिसेफ तथा किडार्क नेपालको सहयोगमा स्वास्थ्य सेवा कार्यालयको समन्वयमा एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सम्वन्धी अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो । ओसीएमसीका क्षेत्र, सेवा पाउने प्रक्रियाबारे जानकारी दिँदै दैलेख अस्पतालका डा. जीवन ज्ञवालीले १९ देखि ४९ वर्ष उमेर समूहका बलात्कार लगायत यौनजन्य हिंसा घटनासंग सम्बन्धित पीडितले सेवा लिएको बताए ।

देशका ७७ वटै अस्पतालमा लागू भएको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) कार्यक्रम लैंगिक हिंसा पीडितहरुको स्वास्थ्य उपचार, सुरक्षा, आश्रय, कानूनी उपचार, पुनस्र्थापनाको उद्देश्यले सञ्चालन गरिए पनि २२ प्रतिशत सेवा पाइरहेको र ६६ प्रतिशत पीडितहरुले घटना लुकाउने गरेको अध्ययनले जनाएको छ । २०६८ फागुन २२ गते नेपाल सरकारको निर्णय अनुसार लैंगिक हिंसा नियन्त्रण सम्वन्धी रणनीति अनुसार लागू भएको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) प्रभावकारी बनाउन ७७ वटै जिल्लाका सदरमुकामका अस्पतालमा जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा जिल्ला स्तरीय समन्वय समिति र प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको छ ।

एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) २०७६ देखि सुरु हुँदै आएकोमा नारायण नगरपालिका र दुल्लू नगरपालिकामा मानसिक स्वास्थ्य परामर्श केन्द्र (सीएमसी)को कोभिड रेस्पोन्स परियोजनाले मामिला व्यवस्थापक ओसीएमसीमै राखिदिएकोले सेवाग्राही बढेका छन् । आवश्यकता पर्दा कानूनी उपचारमा समेत सहयोग गर्नसक्ने भए पनि दैलेखमा ओसीएमसीमा आएका सेवाग्राहीहरुलाई कानूनी सहायता र आपत्कालिन आवासको आवश्यकता परेको बेला सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको महिला तथा बालबालिका सेवा केन्द्र (सेल्टर) ले सेवा दिने गरेको छ ।

अभिमुखीकरण कार्यक्रममा नारायण नगरपालिका उपमेयर सावित्री मल्लले सरकारका नीति तथा कार्यक्रमहरुले पीडितहरुलाई न्याय पाउन र सचेतनाका माध्यमबाट लैङ्गिक हिंसा रोकथाममा सहयोग पुगेको बताएकी छिन् । जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले लैंगिक हिंसाका स्वरुपहरु बदलिंदै दैलेखमा पनि मानव बेचबिखनको समस्या देखिन थालेको औल्याए । दैलेख प्रहरी प्रमुख डीएसपी भुवनेश्वर साहले लैंगिक हिंसा रोकथामका लागि प्रहरीले रातादिन काम गरे अनुसार समाज र सरोकारवालाहरुको सहयोग जरुरी रहेको बताए ।

इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले लैंगिक हिंसा पीडितहरुलाई राहत सहयोग, सुरक्षा, न्याय र पुनस्र्थापना गर्ने एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) को काम प्रभावकारी बनाउन सरोकारवालावीच समन्वय आवश्यकता दर्शाए । स्वास्थ्य सेवा कार्यालयका कार्यालय प्रमुख थीरप्रसाद रेग्मीले एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)को उद्देश्य अनुसार काम भइरहेकोले सेवाग्राही बढ्दै गरेको बताए । किडार्कका कर्णाली प्रदेश कार्यालयका अनुगमन तथा मूल्यांकन अधिकृत किरण पौडेलले लैंगिक हिंसा रोकथामका लागि सरकारी र गैरसरकारी तहबाट केही पहल भए पनि प्रयाप्त नभएको औल्याए ।

प्रतिक्रिया