छट्पटाउँदै घाँटीको क्यान्सर पीडित, सहयोगको खोजीमा परिवार

छट्पटाउँदै घाँटीको क्यान्सर पीडित, सहयोगको खोजीमा परिवार


घाँटीको क्यान्सर पीडित रत्ना सार्की । तस्विर : पारिवारिक स्रोत ।

दैलेख : दैलेखको नारायण नगरपालिका–६ की ३६ बर्षीया रत्ना सार्कीको घाँटीमा समस्या देखिएको डेढ बर्ष भयो । उनले बेलैमा उपचार पाइनन् । ६ महिनाअघि रत्नाका परिवारले केहि रकम जुटाएर चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर पु¥याए । त्यहाँ जचाउँदा उनलाई घाँटीको क्यान्सर भएको थाहा भयो ।

‘सुरुमा उपचार गर्ने रकम जोहो गर्न पनि सकेनौँ, जेनतेन रकम जुटाएर जाँच गर्न लग्यौ, जचाउँदा क्यान्सर भईरसकेको थाहा भयो,’ रत्नाका श्रीमान ईन्द्रबहादुर सार्की भन्छन् । श्रीमतीलाई दुई पटक क्यान्सर अस्पतालमा लिएर उपचार गराएको उनले बताए । तर, उनको रोग निको भएको छैन् । उपचार गर्ने रकम अभावमा घाँटीको क्यान्सर पीडित रत्ना घरमै छट्पटाईरहेकी छिन् । उनको अहिले दैलेख अस्पतालमै सामान्य उपचार भईरहेको छ ।

क्यान्सर अस्पतालले रत्नाको घाँटीको शल्यक्रिया गर्नुपर्ने बताएको परिवार स्रोतले जनाएको छ । शल्यक्रियाका लागि रकम अभाव भएपछि उनको परिवार चिन्तित बनेको छ । उनको परिवारले सबैसँग सहयोगको अपिल गरेका छन् । सामान्य खेतीपाती र ज्यालामजदुरी गरेर परिवार पाल्दै आएका रत्नाका श्रीमान ईन्द्रबहादुरले श्रीमतीको उपचारमा आर्थिक खर्च जुटाइदिन सबै समक्ष आग्रह गरेका छन् । रत्नाको घरमा श्रीमानसहित दुई सन्तान छन् ।

‘हामी जस्ता विपन्न परिवारलाई ऋण पनि कसैले पत्याउँदैन्,’ ईन्द्रबहादुर भन्छन् ‘आर्थिक अभावले श्रीमती रत्नाको उपचारमा (शल्यक्रिया) समस्या परेको छ, श्रीमतीको जीवन रक्षाको लागि सहयोगी संघसंस्था, सरकारी कार्यालय र मनकारी व्यक्तिहरुसँग आग्रह गरेका छौँ ।’
यता नारायण नगरपालिकाले पनि रत्नाको उपचारमा सहयोग गर्न आग्रह गरेको छ । नगरपालिकाले रत्नाको पारिवारिक आर्थिक अवस्था अत्यन्त नाजुक रहेको र औषधी उपचारमा कठिनाई भईरहेकोले सहयोग गर्न इच्छुक व्यक्तिहरुलाई आर्थिक सहयोग गर्न आग्रह गरेको हो ।

प्रतिक्रिया