बहुउद्देश्यीय कृषि गतिविधि अनुगमन
दैलेख, साउन ९ – दैलेखको बराहमा जिल्ला कृषि विकास कार्यालय र विभिन्न गैससहरुको सहभागितामा बहुउद्देश्यीय सिचाई तथा खानेपानी योजना, बेमौसमी तरकारी खेती लगायतका कृषि उत्पादकत्व बृद्धि कार्यक्रम संचालन भएका छन् ।
यूएसएआईडी किसान परियोजना, समाज विकास मञ्च बाँके, अधिकारका लागि पहुँच नेपाल, सुडेक दैलेख, लगायतका विकास साझेदारहरुको सहयोगमा बराह गाविसमा चन्द्रकीरण मकै बीउ उत्पादक कृषक समूहले गरेका विकास कार्यक्रमको आज संयुक्त अनुगमन भएको छ ।
बरिष्ठ कृषि विकास अधिकृत रमेशचन्द्र सुबेदीले किसानहरु विज्ञानको बास्तविक प्रयोगकर्ता भएको बताउनुभएको छ । बराह गाविस क्षेत्रमा गरेका विकास गतिविधिको स्थलगत अनुगमनको क्रममा कृषकहरुसंगको अन्तरक्रियामा उहाँले आज सो धारणा राख्नुभएको हो ।
देशलाई आत्मनिर्भर बनाउन कृषि एक प्रमुख श्रोत भएकोले सरकारी निकाय र गैरसरकारी निकायको श्रोत परिचालन भएको बताउदै बरिष्ठ कृषि विकास अधिकृत सुबेदीले जाँगरिला कृषकहरु भएका ठाउँमा कार्यक्रमहरुको कमी नभएको बताउनुभयो ।
अनुगमन टोलीलाई किसान परियोजनाका जिल्ला संयोजक दीपक काफ्लेले विकास कार्यक्रमहरु बारे जानकारी गराउनु भएको थियो । त्यस बखत बराहको रीठामा मल्चिङ्ग प्रविधिबाट गरिएको टमाटर खेती, त्यहाँ खानेपानी ट्याँकी मर्मतपछि सिचाईका लागि पानी रिजर्व गर्न बनाइएको सिचाईं पोखरीको अनुगमन टोलीले जानकारी लिएको थियो ।
बागवानी अनुसन्धान केन्द्र प्रमुख अमरबहादुर पुन, पशु विकास अधिकृत प्रचण्ड खड्का, सिचाई इञ्जिनियर सन्तोष कैनी, स्थानीय विकास कोषका कार्यकारी सचिव दिलबहादुर शाही लगायतको सहभागिता थियो । अनुगमनकर्ताहरुले विकास प्रभावकारिताका लागि एकद्वार प्रणाली प्रभावकारी हुने बताउनुभयो ।
प्रतिक्रिया