कोही नहुनेको लागि सोसेक : वडाध्यक्ष श्रेष्ठ

कोही नहुनेको लागि सोसेक : वडाध्यक्ष श्रेष्ठ

दैलेख : नारायण नगरपालिका–१ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठले कोही नहुनेहरुको लागि सोसेकले गरेको सहयोग प्रशंसनिय रहेको बताएका छन् । बुधवार छात्रबृति सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । सोसेकले विगतदेखि नै हिंसा पीडित र जोखिममा परेका बालबालिकाहरुलाई महत्वपूर्ण सहयोग प्रदान गर्दै आएको उल्लेख गरे । ‘कोही नहुने व्यक्तिका लागि सोसेक छ भन्ने भनाई यथार्थमा परिणत भएको छ,’ वडाध्यक्ष श्रेष्ठले भने ‘स्थानीय सरकार जनप्रतिनीधिले गर्नुपर्ने काम समेत सोसेक नेपालले गरिरहेको छ ।’

बुधवार सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले छात्रबृति सहयोग उपलब्ध गराएको छ । संस्थाद्धारा सञ्चालित बाल हेल्पलाइन १०९८÷महिला र बालबालिका केन्द्रले छात्रबृति सहयोग उपलब्ध गराएको हो । नारायण नगरपालिकाका ३, दुल्लु नगरपालिकाका ६, नौमूले गाउँपालिकाका ३ र भैरबी गाउँपालिकाका १ जना गरी १३ जना बालबालिकाहरुलाई छात्रबृति सहयोग गरिएको हो ।

सोहि अबसरमा वडाध्यक्ष श्रेष्ठले छात्रबृति पाएका बालबालिकालाई ट्रयाक सुट उपलब्ध गराउने घोषणा समेत गरेका छन् । उनले सोसेकमार्फत छात्रबृति पाएका बालबालिकाहरुलाई केहि दिनभित्रै ट्रयाक सुट उपलब्ध गराउने घोषणा गरेका हुन् ।

प्रतिक्रिया