श्रमिक बालक र बालिकाको उद्धार

श्रमिक बालक र बालिकाको उद्धार

वडा बाल अधिकार समितिले ग¥यो सहयोग

बालबालिकालाई ओड्ने ओछ्याउने प्रदान गर्दै गुराँस गाउँपालिका–४का वडाध्यक्ष खड्गबहादुर शाही ।

दैलेख : दैलेखको एक होटलबाट दुई जना बाल श्रमिकको उद्धार गरिएको छ । जिल्लाको डुङ्गेश्वर गाउँपालिका–६ स्थित डुङ्गेश्जर बजारको युवक होटलमा काम गर्दै आएका एक बालक र एक जना बालिकाकोे उद्धार गरिएको हो । गुराँस गाउँपालिका–४ को वडा बाल अधिकार समिति र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले बालक र बालिकाको उद्धार गरेको हो ।

होटलमा बाल श्रमिकको रुपमा काम गरिरहेका गुराँस गाउँपालिका–४ सालघारी रतिखोलाका कृष्णबहादुर गुरुङ्गको छोरी १५ बर्षीया टिका गुरुङ्ग र १२ बर्षीय छोरा शुसान्त गुरुङ्गलाई उद्धार गरिएको गुराँस गाउँपालिका–४का वडाध्यक्ष खड्गबहादुर शाहीले बताए । वडाध्यक्ष शाहीका अनुसार टिका र शुसान्तको आमा दोस्रो विवाह गरी गएको र बुबा बेपत्ता भएपछि बेसाहारा बनेका उनिहरु डुङ्गेश्जर बजारको युवक होटलमा बाल श्रमिकको रुपमा काम गर्दै आएका थिए । ‘वडा बाल अधिकार समिति र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको सहजिकरणमा बाल श्रमिक बालक र बालिकालाई उद्धार गरिएको हो,’ वडाध्यक्ष शाहीले भने ।

मंगलवार बसेको वडा बाल अधिकार समितिको बैठक ।

मंगलवार बसेको वडा बाल अधिकार समितिको बैठकले उद्धार गरी ल्याईएका बालक र बालिकालाई घरमै बस्ने गरी व्यवस्थापन गर्ने निणर्य गरेको छ । वडाको बाल लक्षित बजेटबाट ३३ हजार रुपैयाँ छुट्याएर उनिहरुलाई खाद्यान्न, लत्ता कपडा उपलब्ध गराईएको छ । जोखिममा रहेका बालबालिकालाई ओड्ने ओछ्याउने कपडा र खाद्यान्न व्यवस्थापन गरिएको समितिले जनाएको छ । वडा बाल अधिकार समितिको बैठकले बालक र बालिकालाई थप सहयोगका लागि गुराँस गाउँपालिका र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाललाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

समितिको बैठकले एक लाख रुपैयाँ बाल लक्षित बजेटमध्ये जोखिममा रहेका बालबालिकालाई ओड्ने ओछ्याउने कपडा र खाद्यान्न व्यवस्थापन गरी बचेको ६७ हजार रुपैयाँ लक्ष्मी बाल क्लब रतिखोला, सुनगाभा बाल क्लब घोडाबास, नमुना बाल क्लब चिसापानी, लक्ष्मी बाल क्लब गाईबान्ना र बुद्ध बाल क्लब दोवाटोलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त बजेट आवश्यकता अनुसार खेलकुदका सामग्री खरिद, जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नका लागि बाल क्लबलाई उपलब्ध गराईएको हो ।

प्रतिक्रिया